काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल मतगणनास्थलबाट बाहिरिएका छन्। सत्ता गठबन्धनका तर्फबाट इलाम–१ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका खनालले मतगणनामा धाँधली भएको बताउँदै बाहिरिएका हुन्।
उनी आजै काठमाडौं फर्कन लागेका छन्। नेपालखबरसँग संक्षिप्त कुराकानी गर्दै धाँधली भएपछि आफू मतगणनास्थमा बस्न मन नलागेर काठमाडौं फर्कन लागेको बताए।
‘मतगणना चल्दै छ, अन्तिम अवस्थामा पुगेको छ। त्यो धाँधलीपूर्ण छन्, कयौं मत गायब छन्,’ खनालले नेपालखबरसँग भने, ‘त्यसपछि मलाई त्यहाँ बस्न मन लागेन्। त्यो धाँधलीपूर्ण नाटक किन हेर्नु भनेर म त्यहाँबाट हिँडे। अहिले काठमाडौं फर्कँदै छु।’
त्यहाँको चुनावी परिणाममा आफ्नो विरोध रहिरहने पनि खनालले बताए। ‘यहाँको चुनावमा मेरो विरोध रहन्छ। यो निर्वाचन धाँधलीपूर्ण निर्वाचन हो,’ खनालले भने, ‘यहाँको प्रदेशसभा क र ख मा गठबन्धनले जित्दैछ। तर संघमा भने धाँधली भएको छ।’
मतगणना हुँदैगर्दा धेरै ‘रमाइलो’ हुँदै गएको ठट्यौली भाषा प्रयोग गर्दै खनालले सो रमाइलो इलामेली जनताले नै हेरुन् भनेर छाडेको उल्लेख गरे।
‘इलामेली जनताले नै यहाँको यो रमाइलो हेरुन् भनेर म हिँडेको छु। इलामा धेरै काम गर्नुछ भन्ने लागेको थियो, तर अब हल्का भएर हिँडेको छु,’ उनले भने, ‘मान्छेले यहाँ मलाई धेरै जिम्मा दिएका थिए, अहिले टाउको हल्का बनाएर हिँडेको छु’
पछि परेको अवस्थामा खनालले त्यहाँ पुनः गणना गर्नुपर्ने माग गरेका थिए। उनले सुरुमा ५ सय मत तलमाथि गरिएको बताएका थिए। त्यसपछि पनि उनले २६० मतमा गडबड गरिएकाले मतगणना बहिष्कार गर्ने चेतावनी दिएका थिए।