दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान हुने

काठमाडौं । निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा मङ्सिर १५ गतेभित्र पुनः मतदान हुने भएको छ । निर्वाचनमा धादली भएको भन्दै परेको उजुरीका सम्बन्धमा आोगले पुनः निर्वाचन गर्ने निर्णय गरेको छ ।

आयोगको आज बसेको बैठकले दोलखाको वैतेश्वर गाउँपालिका२ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र सोही गाउँपालिका–३ को कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’मा पुनः मतदान गर्ने निर्णय गरेको हो ।

त्यसैगरी सोही गाउँपालिका९६ मा वैतेश्वर मावि मतदान केन्द्रको ‘क’, ‘ख’ र ‘ग’ तथा तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’ मा पुनः मतदान गर्ने निर्णय गरेको हो ।

आयोगले गत मङ्सिर ४ गते भएको मतदान कार्य स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हुन सकेको नदेखिएकाले उक्त मतदान रद्द गरी मङ्सिर १५ गतेभित्र पुनः मतदान सम्पन्न गराउन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई निर्देशन दिएको हो।

कमेन्ट गर्नुहोस्