बाजुरामा चुनावका दिन झडपमा निधन भएका चेतनको अन्त्येष्टि आज हुँदै, घटनामा संलग्न एक जना पक्राउ

काठमाडौं । ४ मंसिरको चुनावका दिन झडपमा परि निधन भएका बाजुराका चेतन ऐडीको अन्त्येष्टि आज हुँदैछ । प्रहरीले चेतन हत्याको अनुसन्धानका लागि केही व्यक्तिलाई प्रक्राउ गरेर अनुसन्धान थालेपछि पीडित परिवार शव बुझेर अन्त्येष्टि गर्न तयार भएको हो ।

त्रिवेणी नगरपालिका नगर प्रमुख कर्ण थापाले शव परिवारले बुझेर श्रद्धाञ्जलिका लागि बाजुराको खुलामञ्चमा राखिएको र आजै अन्त्येष्टि हुने बताए । ‘चुनावका दिन चेतनको हत्या भएको हो । तर, प्रहरी प्रशासनले उक्त घटनालाई राजनीतिकरण नगरी हत्या अनुसन्धानमै अनुसन्धान गर्ने भएपछि परिवारले शव बुझेका हुन्,’ नगरप्रमुख थापाले भने ।

यसअघि चेतनका परिवारले आपराधिक घटनालाई राजनीतिकरणका नाममा अपराधीले छुट्न खोजेको आरोप लगाएर शव नबुझ्ने अडान राखेका थिए । चेतन ऐडीका बुबा गगन ऐडीले शुक्रबारमात्रै छोराको हत्या आरोपमा २२ जनामाथि किटानी जोहेरी दिएका थिए । किटानी जाहेरीपछि केही युवालाई प्रहरीले पक्राउ गरेको छ ।

अन्य केही युवामाथि पनि प्रहरीले अनुसन्धान थालेको छ । चेतन हत्या विवाद बढ्न थालेपछि प्रहरी प्रधान कार्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोलीसमेत बाजुरा पठाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख (डीएसपी) चतुर्भुज ओझाले किटानी जाहेरीका आधारमा एक जना युवकलाई पक्राउ गरिएको बताए ।

‘हामीले मृतकका परिवारले जाहेरीका आधारमा एक जनालाई पक्राउ गरेका छौँ । अर्को एक जनालाई सोधपुछका लागि पक्राउ गरिएको छ । जाहेरीमा भएका अरु २२ जनामाथि अनुसन्धान हुन्छ,’ डीएसपी ओझाले भने । एमालेको भ्रातृ संगठन अनेरास्ववियुका सचिवालय सदस्यसमेत रहेका चेतनको मतदान सकिएपछि कांग्रेसका कार्यकर्ताले घरमै गएर निर्घात कुटपिट गरेर आरोप लागेको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका चेतनको अछामस्थित बयलपाटा अस्पतालमा त्यही दिन राति मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्