काठमाडौं । थापाथलीको सुकुमबासी बस्ती हटाउन जाने क्रममा आक्रमणमा परी काठमाडौं महानगरपालिकाका प्रहरी उपरीक्षक तथा प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित ३६ जना प्रहरी घाइते भएका छन्। महानगरले आक्रमणमा संल्घनलाई कारबाही गर्न पत्राचार गरेको छ ।
सोमबार दिउँसो थापाथलीमा नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्नेहरूको नाम खुलाएर कारबाही अघि बढाउन काठमाडौं महानगरपालिकाले प्रहरी परिसर टेकुलाई पत्राचार गरेको हो।
महानगरका प्रवक्ता नवीन मानन्धरले घटनाका विषयमा प्रेस विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेका हुन्। महानगरका अनुसार आक्रमणमा प्रहरी उपरीक्षक तथा प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित ३६ जना प्रहरी घाइते भएका छन्।
घाइतेका ३४ जनाको थापाथलीस्थित नर्भिक अस्पतालमा र २ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ। नदी किनारमा निर्माण भएका घरटहरा, त्यहाँ राखिएका निर्माण सामग्री तथा सवारीसाधन हटाउन अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले सार्वजनिक सूचना जारी गरेको थियो।
प्रवक्ता मानन्धरले गैरकानुनी रूपमा निर्माण भएका अनधिकृत संरचना हटाउने कार्यमा सबै पक्षबाट सहयोग, सहकार्य र समन्वय हुनुपर्ने बताए।