काठमाडौँ । दोलखाका १० वटा मतदान केन्द्रमा बिहीबार (१५ मंसिर) बिहान ७ बजेबाट पुनः मतदान गैरहेको छ। गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बुथ कब्जा भएको निष्कर्ष निर्वाचन आयोगले निकालेसँगै आज मतदान भइरहेको हो।
दोलखाका १० वटै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले नेपालखबरलाई जानकारी दिए। दोलखाका वैतेश्वर गाउँपालिका र तामाकोशी गाउँपालिकाका १० मतदान केन्द्रमा आज मतदान भइरहेको हो।
दोलखाका १० वटा केन्द्रमा धाँदली भएको निष्कर्ष निर्वाचन आयोगले निकालेपछि ती केन्द्रहरुमा पुनः मतदान गराउने निर्णय गरेको थियो।
नेकपा एमालेले सत्तारुढ दलबाट बुथ कब्जा भएको उजुरी दिएपछि खटिएको टोलीले स्थलगत अध्ययन गरेर प्रतिवेदन बुझाएपछि आयोगले पुनः मतदान गराउने निर्णय लिएको थियो।
निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ टोली खटाएर छानबिन गरेको थियो।
यी हुन पुनः निर्वाचन भइरहेका बुथः
१. बैत्यश्वरको वडा नं. ६ (क,ख,ग)
२. वैत्यश्वरको ३ कालीढुङ्गा (क,ख,ग)
३. बैत्यश्वर २ को जनज्योति (क,ख)
४. तामाकोसीको हेल्थपोस्ट (क,ख)