पद्यमा अर्यालकै वडामा धनराजको अग्रता

काठमाडौं । स्थगित भएपछि पुनः सुरु गरिएको स्याङ्जा निर्वाचन क्षेत्र २ मा मतगणना चलिरहेको छ । ताजा अवस्थामा नेकपा एमालेकी पद्यमाकुमारी आर्याललाई पछि पार्दै नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिएका छन् ।

कांग्रेसका गुरुङले पाँच हजार ३१४ मत पाएका छन् भने एमालेकी अर्यालको तीन हजार ९८७ मत रहेको छ । यस्तै, स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले एक हजार ३८४ मत प्राप्त गरेका छन् । अर्यालको स्थायी बसोबास रहेको वालिङ नगरपालिकाको वडा नं.१ मा समेत धनराज गुरुङले १९२ मतको अग्रता लिए । उक्त वडामा पद्मा अर्यालले अग्रता लिने एमालेको दावी थियो । सुरुवाती अवस्थामा एक हजार बढिको अग्रता लिएकी अर्याल अहिले पछि परेकी छन् ।

स्याङ्जा २ मा गल्याङ नगरपालिकाको वडा नम्बर ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नम्बर ५, ६, ७,८ र ९ तथा वालिङको वडा नं.१ गणना भइसकेको छ भने अहिले वालिङ कै २ नम्बर वडाको मत गणना भइरहेको छ ।

यसैगरी, प्रदेश सभा २ (क) तर्फ पनि कांग्रेसका भोजराज अर्यालले अग्रता लिइरहेका छन् । अर्यालले एमालेका मोहन प्रसाद रेग्मीलाई एक हजार २५५ मतले पछि पारेका छन ।

अर्यालले पाँच हजार ७०९ मत ल्याउँदा रेग्मीले चार हजार ४५६ मत ल्याए । पद्मा अर्यालको बसोबास रहेको वडा नं. १ मा प्रदेश तर्फ कांग्रेसले २७३ मतले अग्रता लिएको छ । स्याङ्जा २ मा एक लाख १६ हजार ७७८ मतदाता मध्ये ७० हजार १९१ मत खसेको थियो ।

 

कमेन्ट गर्नुहोस्