धनगढी । ग्रेडरले किच्दा धनगढीको पञ्चोदय माविको कक्षा ८ मा अध्ययनरत १५ वर्षीया चेतना साउदको मृत्यु भएको घटनालाई लिएर धनगढीमा विद्यार्थीको आन्दोलन चर्किएको छ। घटनाको दोस्रो दिन शुक्रबार पनि विद्यार्थीहरुले बिहानैदेखि प्रदर्शन गरिरहेका छन्।
धनगढी– ५ हसनुपरमा निर्माणाधीन सडकको सतह मिलाउन ग्रेडर ब्याक गर्ने क्रममा बिहीबार दिउँसो किचिएर साइकल सवार साउदको मृत्यु भएको थियो। ग्रेडर ब्याक गर्ने क्रममा ठोक्किँदा साउदलाई सामान्य चोट लागे पनि चालकले जानीजानी पुनः ब्याक गरेर मारेको प्रत्यक्षदर्शीले बताएका छन्।
ग्रेडरले ठक्कर दिँदा सामान्य घाइते भएकी चेतनालाई ब्याक गरेर मारिएको थाहा पाएपछि आक्रोशित सहकर्मी विद्यार्थीहरुले दिनभर प्रदर्शन गर्नुका साथै लास उठाउन दिएका थिएनन्।
स्थिति सामान्य हुन नसकेपछि स्थानीय प्रशासनले बेलुकी निषेधाज्ञा जारी गरेको थियो। तर, निषेधाज्ञा तोडेर विद्यार्थीहरुले आज बिहानैदेखि प्रदर्शन गरिरहेका छन्। ब्याक गरेर मान्छे मार्ने चालकलाई कार्वाही गर्नुपर्ने उनीहरूले माग गरेका छन्।