पोर्चुगलमाथि कोरियाको सानदार जित, दुवै नकआउटमा

काठमाडौं । विश्वकप २०२२ अन्तर्गत समूह एचको शुक्रबार भएको खेलमा दक्षिण कोरियाले पोर्चुगलमाथि २–१ गोलको जित हात पारेको छ।

शुक्रबारको खेलको पाँचौं मिनेटमा रिकार्डो होर्टाको गोलमा पोर्चुगलले अग्रता लिएको थियो। तर २७ औं मिनेटमा कोरियाले गोल फर्कायो।

किम योङग्वोनले गोल गर्दै खेल बराबरी गरेका थिए। खेलको इन्ज्युरी समयमा कोरियाका ह्वाङ हिचाङले निर्णायक गोल गरेका थिए।

यद्यपि हारको बाबजुद पोर्चुगल समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने दक्षिण कोरिया पनि उपविजेताको हैसियतमा नकआउट चरणमा पुगेको छ।

गत विश्वकपमा जर्मनीलाई २–० ले हराउँदै सनसनी मच्चाए पनि दक्षिण कोरिया समूह चरणबाटै बाहिरिएको थियो। यसपटक भने बलियो मानिएको पोर्चुगललाई हराएर पोर्चुगलसँगै नकआउट चरणमा पुगेको हो। उरुग्वले घानाविरुद्ध २ गोलको जित हासिल गरेको भएपनि गोलको आधारमा कोरिया अगाडी बन्न पुग्यो ।

समूह विजेता बनेको पोर्चुगलले समूहका दुई खेलमा जित हात पार्दै ६ अंक जोडेको छ। उपविजेता बनेको दक्षिण कोरियाले भने ४ अंक हात पारेको छ।

समूहको तेस्रो स्थानमा रहेको उरुग्वेले दक्षिण कोरियासँग समान अंक र गोल अन्तर भए पनि गरेको गोलको आधारमा उरुग्वे समूह चरणबाटै बाहिरिएको हो।

कमेन्ट गर्नुहोस्