सातै प्रदेशमा प्रदेश सरकार गठनको तयारी सुरु

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आइनसक्दै सातै प्रदेशमा प्रदेश सरकार गठन र नेतृत्वको लागि अनौपचारिक गृहकार्य सुरु भएको छ ।

समानुपातिक र प्रत्यक्ष निर्वाचनतर्फको घोषित नतिजाले कुनै पनि एक दलले प्रदेशमा बहुमतको सरकार बन्ने अवस्था छैन् । तर, अधिकांश प्रदेशसभा वर्तमान सत्तारुढ गठबन्धनको सरकार बन्ने सम्भावना देखिएको छ । सात प्रदेशमध्ये सुदुरपश्चिम प्रदेश सरकारको नेतृत्वको लागि सत्तागठबन्धनकै दलहरूबीच कसरत सुरु भएको छ ।

५३ सदस्यीय सुदुरपश्चिम प्रदेशसभामा ३२ प्रत्यक्ष र २१ समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ । प्रत्यक्षतर्फ कांग्रेस ११, माओवादी केन्द्र ८, नागरिक उन्मुक्ति पार्टी ५, एमाले ३, नेकपा एस २ र स्वतन्त्रले १ क्षेत्रमा निर्वाचन जितेका छन् ।

समानुपातिकतर्फ कांग्रेस ६, माओवादी केन्द्र ३, नेकपा एमाले ७ र एकीकृत समाजवादीले १ सिट पाउने निश्चित भएको छ । यसकारण सुदुरपश्चिम प्रदेशमा वर्तमान सत्तागठबन्धनको स्पष्ट बहुमत देखिएको छ ।

अन्तिम नतिजा नआउँदै प्रदेश सरकारको नेतृत्वका लागि कांग्रेस र माओवादी केन्द्रबीच रस्साकस्सी सुरु भएको छ । त्यसो त चुनावअघि नै कांग्रेस सभापति शेरवहादुर देउवाले माओवादी केन्द्रका प्रदेशसभा सदस्य खगराज भट्टराई मुख्यमन्त्रीको आश्वासन दिएको चर्चा सार्वजनिक भएको थियो । तर, अघिल्लो कार्यकाल माओवादीले नेतृत्व गरेकाले अब कांग्रेसले अवसर पाउनुपर्ने कांग्रेसका नेताहरूको जिकिर छ । तर, दुवै दलका नेताहरू भने गठबन्धनको भावनाअनुसार केन्द्रको निर्देशन र सहमतिका आधारमा टुंगो लाग्ने बताउँछन् ।

गठबन्धनमा प्रदेश सरकारको नेतृत्वबारे टुंगो नलाग्दै कांग्रेसका आधा दर्जन प्रदेश सांसदहरू लागिपरेका छन् । मुख्यमन्त्रीको लागि कांग्रेस सुदुपश्चिम प्रदेश महामन्त्री मेघराज खड्का र बहादुरसिंह थापा अग्रपंंक्तिमा देखिए । आकांक्षी धेरै भएपछि कांग्रेसभित्र किचलो हुने संकेत देखिएको छ । तर, प्रदेश महामन्त्री खड्का पार्टीभित्र कुनै विवाद नहुने जिकिर गर्छन।

२०७४ सालको आमनिर्वाचनमा वामगठबन्धनको तर्फबाट निर्वाचित माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री भएका थिए। तत्कालिन नेकपा विघटन भएसँगै वाम गठबन्धनबाट मुख्यमन्त्री भएका अन्य प्रदेशमा सरकार परिर्वतन भए पनि सुदुरपश्चिम प्रदेश सरकारले भने पूर्ण कार्यकाल बिताएको छ ।

कमेन्ट गर्नुहोस्