काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी, मकवानपुरका सभापति राजकुमार न्यौपानेलाई हटाउन माग राख्दै २ सय ४० जना सदस्यले पार्टी केन्द्रीय कार्यालयमा पत्राचार गरेका छन्।
मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेससभा निर्वाचनमा पार्टीभित्र अन्तर्घात गरेको भन्दै उनीहरूले राजकुमारको बर्खास्तीको माग गर्दै पत्राचार गरेका हुन्।
२४० जना सदस्यले हस्ताक्षरसहित केन्द्रीय कार्यालयमा इमेल गरेका हुन्।
उनीहरूले समानुपातिक उम्मेदवारलाई विपक्षी दलका उम्मेदवारको घरमै लगेर भेटघाट गराएको आरोप लगाएका छन्।
यता सभापति न्यौपानेसँग यसबारेमा बुझ्न खोज्दा उनले आफूलाई हटाउन चलखेल सुरु भएको बताए।
‘यहाँ मलाई सभापतिबाट हटाउन गुटबन्दी भइरहेको छ। मैले पार्टीभित्र कुनै पनि खाले अन्तर्घात गरेको छैन। यो सरासर झुटो आरोप हो’, उनले भने।
उनले हस्ताक्षर कीर्ते गरेर पठाइएको पनि बताए।
‘हस्ताक्षर पनि कीर्ते गरेर पठाइएको छ। यो गुटबन्दीको चरम पराकाष्ठा हो। म यसबारेमा केन्द्रमा कुरा गर्दैछु’, सभापति न्यौपानेले भने।