माओवादी बैठक जारी : चुनावी समीक्षा र नयाँ सरकारबारे छलफल हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक केन्द्रीय कार्यालय पेरिस डाँडामा बसिरहेको छ।आइतवार दिउँसो अढाई बजेपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा मंसिर ४ को चुनावी समीक्षा, नयाँ सरकार निर्माण र समसामयिक विषयमा छलफल हुने भएको छ।

माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार बैठकमा चुनावी समीक्षा र समसामयिक राजनीतिबारे छलफल हुँदैछ। शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले सरकार गठनबारे सबै विकल्प खुला गरेको थियो।

माओवादीले सरकार बनाउन एमालेसँग पनि मिल्नुपर्ने नेताहरुले धारण राखेका थिए । निर्वाचनका क्रममा ४७ स्थानमा उम्मेदवारी दिएको माओवादी १७ सिटमा खुम्चिएको छ । कांग्रेससँको गठबन्धनले क्षति पुगेको माओवादीका कतिपय नेताहरुले बताउने गरेका छन् ।

माओवादी बृत्तमा कांग्रेससँग भन्दा कम्युष्टिहरु मिलेर अघि बढ्नुपर्ने धारणा पनि उत्तिकै रहेको छ । त्यही अनुरुप माओवादीले शनिबारको बैठकबाट एमालेसँग पनि मिलेर सरकारमा जानुपर्ने विकल्पमा नेताहरुले धारणा राखे ।

बैठकले निर्वाचनको समग्र विषयमा समीक्षा गरेर अघि बढ्ने निर्णय लिने पार्टीका महासचिव देवप्रसाद गुरुङले बताएका छन्। शनिबारको बैठकमा नेताहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार नआएको टिप्पणी गरेका थिए।

कमेन्ट गर्नुहोस्