काठमाडौँ । आईसिसी विश्वकप लिग–२ मा नेपाल खराब ब्याटिङको सिकार भएको छ। नेपाले स्कटल्यान्डलाई जितका लागि १ सय ३८ रनको कमजोर लक्ष्य प्रस्तुत गरेको हो।
युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डहोकमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४०.१ ओभरमा १ सय ३७ रनमा अल आउट भयो। नेपालका लागि गुलशन झाले २९ बलमा ३ चौका र १ छक्कासहित २९ रन बनाउनु सर्वाधिक रनका रुपमा रह्यो।
नेपालका लागि थप दोहोरो स्कोरका रुपा अर्जुन साउदले १८ रन बनाउँदा कप्तान रोहित पौडेलले १७ तथा ज्ञानेन्द्र मल्ले २५ रन बनाए। त्यस्तै आरिफ शेख १० रनमा आउट भए। अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्।
स्कटल्यान्डका लागि क्रिस सोलेले ३ विकेट लिँदा मार्क वाटले २ विकेट हात पारे। जारी त्रिकोणात्क सिरिजमा यसअघि नेपालले आफ्नो पहिलो खेलमा नामिबियासँग वर्षाका कारण अङ्क बाँडेको थियो।