छुस्स नेप्से बढ्यो, डेढ अर्बको सेयर कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक छुस्स बढेर बन्द भएको छ । गएको बिहीबारको तुलनामा नेप्से परिसूचक २.१६ अंकले वृद्धि भएर १९६३.२२ विन्दुमा बन्द भएको हो ।

यस दिन एक अर्ब ५६ करोड रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । बिहीबार एक अर्ब ३२ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

नेप्सेका अनुसार आइतबार २४३ धितोपत्रको ३६ लाख ९४ हजार ८४ कित्ता सेयर खरिद–बिक्री भएको छ । सेयर मूल्य सर्वाधिक वृद्धि हुनेमा धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेड छ । यो कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएर ३२१ रुपैयाँ ८० पैसा पुगेको छ ।

यस्तै, ओरेन्टियल होटेल लिमिटेडको सेयर मूल्य ६.५७ प्रतिशतले वृद्धि भएर ५१९ रुपैयाँ पुगेको छ ।

सर्वाधिक रकमको सेयर खरिद–बिक्री नबिल बैंकको भएको छ । यो बैंकको १९ करोड ८० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आठ करोड ७७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

यस दिन सेन्सेटिभ इन्डेक्स ०.३० प्रतिशतले वृद्धि भएर ३८४.८३ विन्दु कायम भएको छ । कारोबारमा अएका १३ मध्ये चार समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक वृद्धि भएको छ ।

सर्वाधिक परिसूचक वृद्धि जीवन बीमा समूहको भएको छ । यो समूहको परिसूचक १.९८ प्रतिशतले वृद्धि भएको छ ।

कमेन्ट गर्नुहोस्