पोल्यान्डलाई हराउँदै फ्रान्स क्वार्टरफाइनलमा, जिरूड बने देशका लागि सर्वाधिक गोलकर्ता

काठमाडौं । आइतबार भएको विश्वकप फुटबलमा साबिक विजेता फ्रान्सले पोल्यान्डलाई ३–१ ले पराजित गर्दै कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनल प्रवेश गरेको छ । उक्त खेलमा स्ट्राइकर ओलिभर जिरूडले देशका लागि सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाए ।

फ्रान्सको जितमा किलियन एमबाप्पेले दुई र जिरूडले एक गोल गरे । पोल्यान्डका रोबर्ट लेवान्डोवस्कीले एक गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।

कतारको अल थुमामा रंगशालामा सम्पन्न खेलको अधिकांश समय बलमा पकड बनाएको फ्रान्सका लागि जिरूडले ४४औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । एमबाप्पेले बनाएको मौकालाई सदुपयोग गर्दै जिरूडले फ्रान्सलाई अग्रता दिलाएका थिए ।

यो गोलसँगै जिरूडले फ्रान्सबाट सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । जिरूडको यो ५२औँ अन्तर्राष्ट्रिय गोल हो । यसअघि थिएरी हेनरीले ५१ गोल गर्दै फ्रान्सबाट सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए ।

जारी विश्वकपमा भने जिरूडको यो तेस्रो गोल हो ।

खेलको ७४औँ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारेका थिए । यस्तै इन्जुरी टाइममा एमबाप्पेले नै गोल गर्दै फ्रान्सको अग्रतालाई ३–० मा पुर्‍याए । जारी विश्वकपमा ‘गोल्डेन बूट’को दौडमा सबैभन्दा अघि रहेका एमबाप्पेको यो पाँचौँ गोल हो ।

तर, इन्जुरी टाइममा नै लेवान्डोवस्कीले पेनाल्टीमा गोल गर्दै पोल्यान्डको खेललाई ३–१ को अवस्थाम ल्याएपनि टिमको हार टार्न सकेनन् ।

ड्याओट उपामेकानोले १८ यार्ड बक्सभित्र ह्यान्डबल भएपछि पोल्यान्डले पेनाल्टीको अवसर पाएको थियो । जसलाई फ्रान्सका गोलकिपर ह्युगो लोरिसले बिफल बनाएका थिए । तर, रेफ्रीले लेवान्डोवस्कीलाई पुनः पेनाल्टी प्रहारको अवसर दिएका थिए । यसमा भने लेवान्डोवस्कीले कुनै गल्ती गरेनन् ।

फ्रान्सले अब सेमिफाइनल प्रवेशका लागि इङ्ल्यान्ड र सेनेगलबीचको विजेतासँग खेल्नेछ ।

विश्वकपमा फ्रान्स समूह ‘डी’ को विजेताको रूपमा र पोल्यान्ड समूह ‘सी’ को उपविजेताको रूपमा अन्तिम–१६ मा प्रवेश गरेका थिए ।

कमेन्ट गर्नुहोस्