कार्यालय समय सकिँदासम्म हाजिर भएनन् जबरा

काठमाडौँ । सरकार र वकिलहरुको अवरोधपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत गएनन् । संसद सचिवालयलेसंसदमा दर्ता महाअभियोग निष्क्रिय भएको पत्र दिएपछि जबरा आज सर्वोच्च फर्किने तयारीमा थिए ।

बारका पदाधिकारी जबरालाई रोक्न सर्वोच्चको गेटमा धर्ना बसे । संसद सचिवालयले महाअभियोग निष्प्रभावी भइसकेको पत्र दिए पनि सरकारले जबरालाई सर्वोच्च छिर्न नदिन निर्देशन दिएको छ ।

गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई जबरा बालुवाटारबाट आएर सर्वोच्चमा छिर्न खोजे रोक्न निर्देशन दिएको थियो । सरकारको निर्देशन र वकिलहरुको पनि अवरोधका कारण जबरा सर्वोच्च फर्किन सकेनन्। उनले दिउँसो ३ बजे आफू सर्वोच्चमा हाजिर हुने बताएसँगै सर्वोच्च परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

भोली सार्वजनिक बिदा भएकाले आजै सर्वोच्च पुगेर हाजिर गर्ने तयारी गरेपनि कार्यालय समयसम्म उनी सर्वोच्च पुगेनन्।

यसअघि गत असोजमा संसदको पाँच वर्षे कार्यकाल सकिँदा पनि चोलेन्द्रले सर्वोच्च फर्किने प्रयास गरेका थिए । तर उनीलाई बालुवाटारस्थित निवासमै सुरक्षाकर्मी परिचालन गरेर त्यसबेला पनि रोकिएको थियो ।

कमेन्ट गर्नुहोस्