नेम्वाङको जितविरुद्ध सर्वोच्चमा मुद्दा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा इलाम २ मा पुनः मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ।

कांग्रेसबाट उम्मेदवार रहेका डम्बर खड्काले पुनः मतगणना गर्न माग गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दा दर्ता गराएका हुन्। खड्काले एमाले उम्मेदवार सुवास नेम्वाङले धाँधली गरेर निर्वाचन जितेको दाबी गरेका छन्।

सर्वोच्चले संवैधानिक इजलासमा पछि पेसी तोकिने गरी उजुरी दर्ता भएको जानकारी दिएको छ। उजुरी–पत्रमा मतपत्र गणना नगरिएको, हस्ताक्षर नभएका मतपत्र छलफल नगरी रद्द गरिएको, कतिपय स्थानमा कांग्रेसका प्रतिनिधिबिना नै मतगणना गरी धाँधली गरेर निर्वाचन जितेको आरोप लगाइएको छ।

इलाम २ मा ११४ मत अन्तरले नेम्वाङ विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाएका छन्।

कमेन्ट गर्नुहोस्