कलाकृति र रहनसहनको संरक्षण गर्नु साझा दायित्व : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्यापु समुदायको परम्परा, कलाकृति र रहनसहनको संरक्षण गर्नु साझा दायित्व भएको बताएका छन् ।

बिहीबार ज्यापु संस्कृति विकास कोषले १९औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले ज्यापु समुदायको धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, शिल्प र रहनसहनको संरक्षण गर्नु साझा दायित्व भएको बताएका हुन् ।

उनले ज्यापु समुदायका जात्रा, पर्व, सांस्कृतिक गतिविधिहरू, कला र कौशलहरू राष्ट्रको अमूल्य निधि भएको उल्लेख गर्दै त्यसको संरक्षण गर्नुपर्ने बताए । सम्पदा र संस्कृतिहरूको जगेर्ना गर्नु सबैको कर्तव्य भएको देउवाको भनाइ थियो ।

‘काठमाडौं उपत्यकाको कला, संस्कृति र सभ्यताको विकासमा ज्यापु समुदायको, ज्यापु समाजको उल्लेखनीय योगदान छ । ज्यापु समुदायका जात्रा, पर्व, सांस्कृतिक गतिविधिहरू, कला, कौशल नेपालका अमुल्य निधि हुन् । ज्यापु समुदायका धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, शिल्प र रहनसहनको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो,’ देउवाले भने, ‘यस्तो महत्त्वपूर्ण संस्कृति र सम्पदालाई संरक्षण गर्नु, विलिन हुनबाट जोगाउनु हाम्रो कर्तव्य हो । राष्ट्रिय ज्यापु दिवसको माध्यमबाट नेपालको आर्थिक तथा सामाजिक विकासमा ज्यापु समुदायले पुर्‍याउँदै आएको योगदानलाई सबै समक्ष उजागर गर्दै मुलुकको संस्कृति, परम्परा, रहनसहनलाई संवर्द्धन र प्रवर्द्धन गर्न मद्दत पुर्‍याउने विश्वास लिएको छु ।’

उनले उपत्यकाका ज्यापु समुदायले न्युनतम आर्थिक तथा नैतिक सुविधाका बीचमा पनि आफ्ना मौलिक परम्परा र संस्कृतिलाई बचाइराखेको भन्दै प्रशंशा गरे । सो समुदाय आफ्नै प्रकारको विशिष्ट र मौलिक पहिचान बोकेको मेहनती र इमान्दार समुदायको रूपमा परिचित रहेको उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले कृषि अर्थतन्त्रको विकासमा पनि ज्यापु समुदायको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

कमेन्ट गर्नुहोस्