नामिबियामा जितविहीन नेपाल : स्कटल्यान्डसँग ८ विकेटले पराजित

काठमाडौं । अन्तिम खेलमा बिहीबार स्कटल्यान्डसँग ८ विकेटले पराजित भएसँगै आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाका लागि नामिबिया भ्रमणमा गएको नेपाल जितविहीन बनेको छ ।

नामिबियाको विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा सम्पन्न खेलमा नेपालले दिएको १२० रनको सामान्य लक्ष्य स्कटल्यान्डले १७ ओभरमै दुई विकेट गुमाएर पूरा गर्‍यो ।

स्कटल्यान्डको जितमा क्रिस्टोपर म्याकब्रिडले ४६ रन बनाए । यस्तै, आक्रामक रूपमा प्रस्तुत भएका जर्ज मुन्सीले २८ बलमा सात चौका र दुई छक्कासहित ४५ रन जोडे । किल कोएट्जरले १६ रन बनाउँदा कप्तान रिची बेरिंगटनले १२ रन जोडे ।

नेपालका गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले ३५।३ ओभरमा सबै विकेट गुमाउनुअघि ११९ रनको योगफल खडा गरेको थियो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४७ रन बनाएका थिए । सोमपाल कामीले १६, दीपेन्द्रसिंह ऐरीले १४ र ललित राजवंशीले ११ रन जोड्नुबाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् ।

नेपालका ओपनर अर्जुन साउद ‘डक’ आउट हुँदा अर्का ओपनर आसिफ शेख एक रनमा पभेलियन फर्किएका थिए । यस्तै, ज्ञानेन्द्र मल्ल नौ, आरिफ शेख ६, हरिशंकर साह एक, गुल्सन झा पाँच रनमा आउट हुँदा सागर ढकाल एक रनमा अविजित रहेका थिए ।

नेपाललाई सस्तैमा समेट्न स्कटल्यान्डका ब्रान्डन म्याकमुलन, सफ्यान सरिफ र मार्क वाटले दुई–दुई विकेट लिएका थिए । क्रिस सोल, क्रिस्टोफर म्याकब्रिड र क्रिस ग्रेभसले समान एक विकेट हात पारे ।

यो हारसँगै नेपाल शृंखलामा जितविहीन बन्यो । शृंखलाको पहिलो खेल वर्षाले बिथोलेपछि नेपाल र नामिबियाबीचको खेल रद्द भएको थियो । दोस्रो खेलमा स्कटल्यान्डसँग तीन विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा नामिबियासँग ८६ रनले पराजित भएको थियो ।

लिग–२ मा २४ खेलबाट १८ अंक जोडेको नेपाल अंकतालिकाको छैटौँ स्थानमा छ । ३२ खेलबाट ४६ अंक जोडेको स्कटल्यान्ड शीर्ष स्थानमा छ । ३० खेलबाट ३७ अंक जोडेको नामिबिया तेस्रो स्थानमा छ ।

कमेन्ट गर्नुहोस्