माओवादी आन्दोलनका उपलब्धिहरूको रक्षा र संस्थागत गर्न जरुरी भएको छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनका उपलब्धिहरूको रक्षा र संस्थागत गर्न जरुरी भएको बताएका छन्। प्रेस सेन्टर नेपालद्वारा आज ललितपुरमा आयोजित केन्द्रीय पदाधिकारीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्षले मुलुकलाई सही दिशातर्फ लैजाने अभिभारा माओवादीसँग रहेको बताए। उनले त्यसका लागि सूचना तथा सञ्चारमाध्यमबाट मिडिया विषयवस्तु बनाएर त्यसको सही बजारीकरण गर्नसमेत आग्रह पनि गरे ।

नेपालको राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग भएको उनको भनाई थियो । अध्यक्षले भने, “माओवादी त्यस्तो राष्ट्रिय शक्ति हो जसलाई हिसाबकिताब नगरी अन्तर्राष्ट्रिय शक्तिले पनि केही गर्न सक्दैन ।” माओवादीलाई निमिट्यान्न पार्न धेरै शक्ति लागेको बताउँदै उनले यसको रक्षा गर्ने दायित्व हामी सबैको भएको जनाए ।

“सरकारमा आलोपालो हुने भन्ने कुरा स्पष्ट नै छ,” उनले भने,“६० सिटको कमान्ड गर्ने स्थिति माओवादीसँग छ । हामी जहाँ उभिएका छौँ सरकार त्यही बन्छ।” यो निर्वाचन अपेक्षित नभएको बताए उनले खतम भएको देख्न चाहने शक्तिले माओवादीलाई कमजोर बनाउन खोजे पनि स्थिति त्यस्तो नभएको बताए ।

अन्तर्राष्ट्रिय गतिविधिको राम्रोसँग विश्लेषण गरी बहुध्रुवमा गएको विश्व परिघटना र अहिलेको जनमतलाई सही ढङ्गले बुझ्न र मुलुकलाई नयाँ शिराबाट लैजान प्रेस सेन्टरले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा उनले जोड दिए।

कमेन्ट गर्नुहोस्