युक्रेनका ऊर्जा केन्द्रमा रूसद्वारा ७६ मिसाइल प्रहार

किभ (एजेन्सी) । रूसले शुक्रबार युक्रेनका धेरै सहरमा ७६ मिसाइल आक्रमण गरेको छ। युक्रेनले पछिल्लो आक्रमणमा आफ्ना ९ वटा ऊर्जा केन्द्रमा क्षति पुगेको बताएको छ। ऊर्जा केन्द्रमा भएको आक्रमणसँगै देशको ऊर्जा वितरण आधाभन्दा बढीले घटाएको।

युक्रेनी सेना प्रमुखले रूसले ७६ वटा क्षेप्यास्त्र प्रहार गरेको र त्यसमध्ये अधिकांश क्रुज मिसाइल रहेको बताएका छन्। युक्रेनले यीमध्ये ६० वटालाई रोकेको थियो। युक्रेनले हालसम्म यी आक्रमणहरूबाट मध्य युक्रेन र दक्षिणमा खेरसानमा तीन नागरिकको मृत्यु भएको पुष्टि गरेको छ। ‘आक्रमणबाट भएको क्षति महत्त्वपूर्ण छ। ऊर्जामा मुख्य सरकारी एजेन्सीले ५० प्रतिशत बिजुली ग्रिड प्रभावित भएको बताएको छ,’ युक्रेनका रक्षा मन्त्रीका सल्लाहकार युरी साकले भने।

उनले भने, ‘मर्मतको काम द्रुत गतिमा भइरहेको छ। तर, त्यहाँ धेरै सहरहरू छन् जुन नराम्ररी प्रभावित भएका छन्। राजधानी किभका धेरै भागहरूमा आपत्कालीन बिजुली कटौती गरिएको छ।’ खार्किव र अन्य धेरै क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा बन्द भएको छ।

आपत्कालीन सेवाहरू काम गरिरहे पनि अवस्था अझै मुस्किल रहेको उनले बताए। विगतको तुलनामा युक्रेनमा रूसको आक्रमण बढेको छ र उसले युक्रेनको आवासीय क्षेत्र र ऊर्जा पूर्वाधारमा आक्रमण गरेको छ।

कमेन्ट गर्नुहोस्