दुई केन्द्रीय सदस्य र मेयरलाई कारबाही गर्न काभ्रे कांग्रेसको सिफारिस

काठमाडौं । कांग्रेस काभ्रेले दुई केन्द्रीय सदस्य र एक प्रतिनिधिसभा सभापतिलाई साधारण सदस्यसमेत नरहने गरी कारबाहीका लागि बागमती प्रदेश र केन्द्रमा सिफारिस गरेको छ।

केन्द्रीय सदस्य मधुप्रसाद आचार्य र गणेश लामा तथा प्रतिनिधिसभा २ का सभापति एवं पाँचखाल नगरपालिका मेयर महेश खरेललाई कारबाहीको सिफारिस गरेको हो।

शनिबार बसेको जिल्ला कार्यसमिति काभ्रेको बैठकले उनीहरू तीनजनालाई संघ र प्रदेश निर्वाचनमा अन्तर्घात गरेको भन्दै कारबाहीको लागि सिफारिस गरेको कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले जानकारी दिए।

‘प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घात गरेकाले दुई केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्रीय सभापतिलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न माग गर्दै काभ्रे सभापति लामाले विज्ञप्ति जारी गरेका छन् ।

निर्वाचनमा पार्टी तथा गठबन्धनका साझा उम्मेदवारलाई हराउनका लागि भूमिका खेलेको जिल्लाको आरोप छ। त्यस्तै, जिल्ला कार्यसमितिको बैठकले कम मत आएको पालिकामा सम्बन्धित पालिका समितिले स्पष्टीकरण सोध्न सक्ने निर्णय पनि गरेको सभापति लामाले बताए।

प्रतिनिधिसभा २ मा कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई नेकपा एमाले उम्मेदवार गोकुल बाँस्कोटाले पराजित गरेका थिए।

जिल्ला कार्यसमिति बैठकले प्रतिनिधिसभा २ को प्रदेश सभा ख मा विजयी उम्मेदवार कन्चनचन्द्र बादे र प्रतिनिधिसभाका उम्मेदवार शिव हुमगाईंबीचको मत अन्तर कम हुनुको कारणबारे समेत स्पष्टीकरण सोध्ने निर्णय गरेको जिल्ला सचिव गुणराज मोक्तानले जानकारी दिए।

केन्द्रीय सदस्य मधुप्रसाद आचार्यले कारबाहीको विषयमा आफूलाई थाहा नभएको बताए।

कमेन्ट गर्नुहोस्