वर्षमान पुन स्वदेश फिर्ता, स्वास्थ्य सुधारोन्मुख

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आज स्वदेश फर्किएका छन्। स्वास्थ्यमा सन्तोषजनक प्रगति भएपछि नेता पुन आज नेपाल फर्किएको उनको सचिवालयले जानकारी दिएको छ।

चिकित्सकहरूको परामर्शमा उपचारका लागि उनी मंसिर १६ गते चीन गएका थिए।उनी चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै आज दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

वंशाणुगत जण्डिसबाट पीडित नेता पुन चुनावी धपेडीले रोग बल्झिएपछि उपचारका लागि चीन गएका थिए।सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उनको उपचार गरिएको हो।


पुनको पत्नीसमेत रहेकी पूर्वसभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीले नेता पुनको स्वास्थ्यमा सन्तोषजनक सुधार आएको जानकारी दिइन्।

नेपालबाट जाँदा पुनमा निन्द्रा नलाग्ने, शरिर चिलाउने, लगातार खोकी लाग्ने र खानामा अरुची तथा बान्ता हुनेजस्ता समस्या देखिएकोमा चीनमा उपचारपछि भने ती समस्या हटेको छ।

उपचारमा जानुअघि पुनको शरिरमा जण्डिस (बिलरुबिन) को मात्रा २७ बिन्दु थियो भने हाल १८ मा आएको छ। पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ।

यसअघि गत वर्ष पनि पुनको सुरूमा थाइल्याण्ड र पछि चीनका अस्पतालमा उपचार गरिएको थियो।

कमेन्ट गर्नुहोस्