चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले दुई महिनाभित्र भरतपुरबाट नयाँ सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) वितरण हुने बताएका छन्। बुधबार गेष्ठ हाउसचौर नजिकको भवनमा स्थान्तरण हुन लागेको यातायात व्यवस्था कार्यालय भरतपुरको अनुगमन एवम् निरीक्षण गर्दै उनले दुई महिनाभित्र ट्रायलसहितको नयाँ लाईसेन्स वितरण हुने उल्लेख गरिन् ।
४ वर्षअघिदेखि भरतपुरमा सबै सुविधासहितको यातायात कार्यालय ल्याउने कार्यको थालनी गरेको स्मरण गर्दै उनले अबको २ महिनाभित्र यातायातका सम्पूर्ण सुविधा भरतपुरबाटै पाइने बताइन् ।
‘चितवनबासी मात्र नभई छिमेकी जिल्लाका सेवाग्राहीलाई सेवा लिन सहज हुनेछ,उनले भनिन् ,‘देशको केन्द्र भागमा भरतपुर रहेकाले धेरैले सेवा लिनु हुनेछ । यहाँको आर्थिक क्रियाकलाप पनि वृद्धि भएर जानेछ ।चितवनवासीको लागि गर्वको विषय हो ।’
कार्यालयको सेवा सञ्चालनको लागि आवश्यक अस्थाई संरचना निर्माण गर्न महानगरपालिका सकारात्मक रहेको मेयर दाहालको भनाई छ । कार्यालयले नयाँ लाईसेन्स वितरण छिटोभन्दा छिटो गर्ने उद्देश्यसहित प्राविधिक कार्यालयलाई तीब्र रुपमा अघि बढाइरहेको छ । यातायात व्यवस्था कार्यालयको आफ्नै स्वमित्वमा हुने गरी कार्यालय भवन निर्माण गर्न महानगरपालिकाले भरतपुर–११ आँपटारीमा रहेको सार्वजनिक जग्गालाई भोगाधिकारी लिने गरी आवश्यक प्रकृया पनि बढाईसकेको छ । नेपाल सरकारको मन्त्रीपरिषदको निर्णयपछि यो विषय टुङ्गो लगाउने छ ।
यसअघि चितवनबासीहरु लाईसन्स लिनको लागि काठमाडौँ, पोखरा, बुटवल, हेटौडा र बीरगञ्ज जानुपर्ने बाध्यता थियो ।
भरतपुरमा नयाँ लाईसेन्स वितरण गर्न ट्रायल सेन्टर छनोट हुने कार्य पनि अन्तिम चरणमा पुगेको छ । अन्तिम दुईमा भरतपुरका महालक्ष्मी ट्रायल सेन्टर र सद्गुरु ट्रायल सेन्टर छनोट भएका थिए । अब १५ दिनभित्र ट्रायल सेन्टरको पनि टुङ्गो लाग्ने यातायात व्यवस्था कार्यालय भरतपुरका प्रमुख कालीबहादुर भुजेलले जानकारी दिए ।
यस्तै लाइसेन्सको ट्रायल दिन आउनेहरुको स्वास्थ्य परिक्षणका लागि सूचिकृत हुन मेडिकल संस्थाहरुलाई १५ दिने सूचनाबाट आह्वान गरिएको कार्यालयको प्रमुख भुजेलले जानकारी दिए।