चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । हत्यासहितका विभिन्न अपराधमा सजाय काटिरहेका चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। ज्येष्ठ नागरिकलाई दिइँदै आएको कैद छुटको सुविधा चार्ल्स शोभराजले पनि पाउनुपर्ने भन्दै बन्दी प्रत्यक्षीकरणको रिट परेको थियो।

न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले केन्द्रीय कारागार सुन्धारामा रहेका शोभराजलाई कैदमुक्त गरेर देश फिर्ता गर्न आदेश दिएको हो। कुख्यात अपराधी शोभराजलाई रिहा गर्न भन्दै २०७७ पुसमै बन्दी प्रत्यक्षीकरण रिट परेको थियो। करिब एक वर्षपछि मात्रै उनी जेलबाट रिहा भएर देश फर्किने भएका हुन्।

जेष्ठ नागरिकलाई दिने कैद छुट माग गर्दै शोभराजले रिट हालेका थिए। ७८ वर्षीय शोभराजले २०७७ पुस ७ गते कैद छुटको माग गर्दै रिट दायर गरेका थिए। जेष्ठ नागरिक ऐन अनुसार ७५ वर्ष पूरा भएकालाई ७५ प्रतिशत कैद छुट दिइने व्यवस्था छ। तर कारागार ऐन र नियमावलीसँग बाझिँदा सबै कैदीले यस्तो सुविधा पाएका छैनन्। कारागार ऐनमा भने गम्भीर प्रकृतिका मुद्दामा भने कैद छुट दिने व्यवस्था छैन।

नेपालमा अमेरिका र क्यानडाकी महिलाको हत्या गरेको अभियोगमा शोभराज २०६० सालदेखि केन्द्रीय कारागार सुन्धारामा छन्। उनीविरुद्ध अदालतले जन्मकैदको फैसला गरेको हो । अदालतको उक्त फैसलाअनुसार उनी २०८० सालमा छुट्ने भए पनि उनीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी उद्योगको अर्को मुद्दामा थप ५ वर्ष कैदको फैसला भएको थियो।

कमेन्ट गर्नुहोस्