भरतपुर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको रामनगर क्षेत्र र ठिमुरामा निर्माणधिन अवस्थामा रहेको खानेपानी आयोजनाको शुक्रबार अनुगमन एवम् निरीक्षण गरेकी छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर–१ मा अवस्थित ढयाङ्ग्रे खोलामा निर्माणधिन खानेपानी आयोजना र ठिमुरामा भइरहेको डिप बरिङ्ग हाल्ने कामको निरीक्षण गरेकी हुन् ।मेयर दाहालले खानेपानी आयोजनाको प्रगतीबारे स्थलगत अवलोकन गरी छिटोभन्दा छिटो काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरिन्।
करिब २ महिनाअघिदेखि रामनगरबासीलाई लक्ष्ति गरी ढयाङ्ग्रे खोलामा निर्माण भएको १ लाख लिटर क्षमताको रिर्जभ ट्याङ्कीको काम सकिएको छ ।
अब पम्प मार्फत मुहानदेखि ओभर हेड ट्याङकीसम्म पाईप पुराउने काम बाँकी रहेको छ । ठेकेदारका अनुसार अबको एक महिनाभित्र यो कामले पुर्णता पाउने छ ।
यस्तै वडा नम्बर १ मा रहेको ठिमुराबासीहरु पनि सुरक्षित र स्वच्छ खाने पानीको पहुँचमा पुगेका छन् । अहिले त्यहाँका करिब २ सय घरधुरीका लागि डिप बोरिङ हाल्ने काम भइरहेको छ । महानगरपालिकाले यसै स्थानमा अर्को दीर्घकालिन महत्वको खानेपानी परियोजना अघि
बढाएको महानगरपालिका प्रमुख दाहालले जानकारी दिइन्।
महानगरपालिका प्रमुख दाहालका अनुसार भरतपुरका २९ वटै वडामा बाहिरा प्रचार गरेको जस्तो खानेपानीको अभाव नरहेको उल्लेख गरिन् । संविधानले ग्यारेण्टी गरेको खानेपानी उपभोगको अधिकारलाई मध्यनजर राख्दै ठुला ठुला परियोजनाहरु निर्माणधिन अवस्थामा रहेको प्रमुख दाहालको भनाई छ ।