काठमाडौँ । बालुवाटारमा सरकार गठनका लागि गठबन्धनका नेताहरुबीचको बैठक सकिएको छ । बैठक सकिए पनि निष्कर्षमा पुगि नसकिएको बैठकबाट बाहिरिएका नेताहरु प्रतिक्रिया दिएका छन् ।
बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बैठकमा सहमति नभएको बताए । उनका अनुसार छलफल जारी छ । तर सहमति भएको छैन ।
गठबन्धनका नेताहरु बाहिरिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका नेताहरु रामचन्द्र पौडेल र पूर्णबहादुर खड्कासँग छलफल गरिरहेका छन् ।
चुनावमा आगामी पाँच वर्षसम्म गठबन्धनकै सरकारलाई निरन्तरता दिने प्रतिबद्वतासहित जनमत लिएका सत्ता गठबन्धन दल चुनावपछि भने सरकार गठनका लागि बार्गेनिङमा छन् । गठबन्धनमा रहेका दलहरुबीच शक्ति बाँडटको सहमति नहुँदा नयाँ सरकार गठन हुन सकेको छैन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिनको समय दिएर प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेको समयसीमा आइतबार साँझ ५ बजे सकिदैछ । तर दलहरुबीच सरकार गठनबारे सहमति हुन सकेको छैन । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा रहेका दल शक्ति बाँडफाँटको अन्तिम कसरतमा छन् । बिहान पार्टीभित्र आन्तरिक र शीर्ष नेताहरुबीच चरणबद्व छलफलपछि अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा बसेका थिए।
माओवादी केन्द्रका नेताहरुले नेकपा एमालेसँग पनि अनौपचारिक छलफल गरिरहेका छन् भने कांग्रेसले पनि एमालेसँग संवाद टुटाएको छैन । आइतबार बिहानमात्रै कांग्रेस नेता विमलेन्द्र निधिले एमाले अध्यक्ष केपी ओलीलाई निवासमै पुगेर भेटेका थिए ।
संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अहिले गठबन्धन आवश्यक रहेको बताए । साथै उनले सरकार बनाउने विषयमा सहमति जुटाउन अन्तिम कसरत चलिरहेको बताए।