काँग्रेस नेता गुरुङको सांसद पद निलम्बन

काठमाडौं। नेपाली काँग्रेसका नेता टेकबहादुर गुरुङको सांसद पद निलम्बन भएको छ। संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले सोमबार विज्ञप्ति जारी गरी भ्रष्टाचारको मुद्दा किनारा नलागेकाले सांसद गुरुङ स्वतः निलम्बनमा परेको जनाएका छन्।

गुरुङ मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। प्रतिनिधिसभाका सदस्य गुरुङमाथिको मुद्दा विशेष अदालतमा विचाराधीन रहेकाले मुद्दाको अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने विज्ञप्तिमा उल्लेख छ। यसअघि गुरुङले प्रतिनिधिसभा सदस्यको शपथ भने लिएका थिए।

गुरुङमाथि भ्रष्टाचार अभियोगमा मुद्दा चलिरहेकोले उनको सांसद पद निलम्बनमा राख्न यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संसद् सचिवालयलाई पत्राचार गरेको थियो। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा श्रम तथा रोजगार राज्यमन्त्री भएका उनले काठमाडौं फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग छ। अख्तियारले उनीसहित १६ जनाविरुद्ध माघ २०७५ मा विशेष अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ।

कमेन्ट गर्नुहोस्