साढे दुई वर्षपछि साढे दुई घण्टा खुमलटारको पारिवारिक माहोलमा केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको निवासमा पारिवारिक माहोलमा करिब साढे दुई घण्टा बिताएर फर्किएका छन् ।

ओली दुई वर्ष नौ दिनपछि बुधबार प्रचण्डको निवास खुमलटार पुगेका हुन् । पहिलोपल्ट प्रतिनिधिसभा विघटनको अघिल्लो साँझपछि ओली खुमलटार गएका थिएनन् ।

यसअघि, ०७७ पुस ४ गते साँझ तत्कालीन प्रधानमन्त्री ओली आफू अध्यक्ष रहेको तत्कालीन नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग छलफल गर्न खुमलटार गएका थिए ।

दुई वर्षअघिको उक्त भेटमा ओली प्रधानमन्त्री थिए भने बुधबारको भेटमा उनै ओलीको समर्थनमा प्रचण्ड प्रधानमन्त्री छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चार दिनअघि अकस्मात् ओलीनिवास बालकोट पुगेपछि नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन विघटन भई एमाले नेतृत्वको नयाँ गठबन्धनको निर्माण भएको छ । ओलीसहित सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएका हुन् ।

करिब एकै रङ सुटमा प्रचण्डसँग र ओली खुमलटारको छतमा चढ्दा रसिला सुन्तलबाट स्वागत पाए। ओलीका लागि त्यहाँ प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी गंगा दाहालकी छोरी स्मिता दाहालले सुन्तला दिएर स्वागत गरेकी थिइन् ।

ओलीको स्वागतसँगै प्रधानमन्त्री प्रचण्डको सिंगो परिवारसँगै उनको सचिवालयको टोली पनि छतमा निस्किएको थियो । छतमा हँसिया हथौडा अंकित फलामे कुर्सीमा बसेर गफिदै दुवै नेताले सुन्तला खाँदै घाम तापेका फोटाहरु सामाजिक संजालमा भाइरल भएका छन् ।

भेटमा ओलीको साथमा उनका सचिव राजेश बज्राचार्यसँगै निजी सचिव राजन काफ्ले पनि सहभागी थिए ।

प्रचण्डको तर्फबाट छोरी गंगा,प्रचण्डका ज्वाइँ एवम् प्रदेशसभा सदस्य जीवन आचार्य, नातिनी स्मिता, स्वीकय सचिव रमेश मल्ल र प्रेस सल्लाहकार सूर्य किरण सहभागी थिए ।

साथै, प्रचण्डकी छोरी भरतपुर महानगरकी मेयर रेनु दाहालले पनि प्रचण्ड र केपी ओलीसँगको तस्बिर सम्मानित नेताहरुसँग भनेर सामाजिक संजालमा राखेकी छन् ।

प्रचण्डलाई भेट्न ओली साढे ११ बजे प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

उनी पौने दुई बजे बाहिरिएका थिए । बाहिरिने क्रममा संक्षिप्त कुरा गर्दै सरकारलाई बलियो बनाउने विषयमा कुराकानी भएको बताए ।

प्रचण्डका स्वकिय सचिव रमेश मल्लले सरकारलाई बलियो बनाउने बारेमा बिहीबार फेरि बालुवाटारमा छलफल गर्ने गरी भेटवार्ता टुंगिएको बताएका छन्।

‘भोलिको छलफलले थप निर्णय गर्नेछ। अहिले गठबन्धनभन्दा पनि सत्ता साझेदारीबारे कुरा भयो,’ उनले भने, ‘आज मन्त्रिपरिषद् विस्तारबारेमा कुरा भएन। सरकारको नीति तथा कार्यक्रममा छलफल भएको छ।’

कमेन्ट गर्नुहोस्