फिक्सिङको आरोपपछि टी–२० लिग अनुगमन गर्न आईसीसी टोली काठमाडौंमा

काठमाडौं । ‘स्पट तथा म्याच फिक्सिङ’ को आरोप लागेपछि नेपाल टी–२० लिग अनुसन्धानमा तानिएको छ । नेपाल टी–२० लिग अनुगमन गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का प्रतिनिधि बिहीबार काठमाडौं आइपुगेको छ ।

आईसीसी एन्टी करप्सन युनिट (एसीयू)का सिनियर इन्टिग्रिटी अफिसर एन्ड्रयू इफग्रेभको नेतृत्वमा दुई सदस्यीय टोली बिहीबार काठमाडौं आएको हो। उनीहरूले आज बिहान प्रतियोगिता भइरहेको स्थल त्रिवि क्रिकेट मैदानमा पुगेर खेलाडी, अफिसियल तथा अम्पायरसँग कुराकानी गरेका थिए ।

त्यस्तै इफग्रेभको टोलीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)सँग पनि छलफल गरेको छ । उनीहरूले राष्ट्रिय खेलकुद परिषद् (राखेप) पुगेर सदस्यसचिव टंकलाल घिसिङसँग पनि छलफल गरेका थिए । यससँगै आईसीसी टोलीले सरोकार सबै निकायसँग छलफल गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई व्यापारिक तथा रणनीतिक साझेदार बनाएर आयोजना गरिएको नेपाल टी–२० लिगमा ‘स्पट तथा म्याच फिक्सिङ’ गरेको आरोप लागेको छ ।

लिगमा कमेन्ट्री गरेको सचिन तिमल्सिनाले मंगलबार सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै लिगमा स्पट फिक्सिङको अनुभव भएको भन्दै प्रतियोगिताबाट अलग्गिएको बताएका थिए ।

यस्तै, लिगको रणनीतिक सहयोगीको रूपमा रहेको भारतीय कम्पनी सेभेन थ्री स्पोट्र्सका मालिक जतिन आहलुवालिया नै सम्पर्कविहीन भएको बताइएको छ । मंगलबार नै खेलाडीले पाउनु पर्ने पारिश्रमिक नपाएको भन्दै विराटनगर सुपर किङ्ग्स र काठमाडौं नाइट्सले टस गर्न मानेका थिएनन् । पछि क्यानका पदाधिकारीले पारिश्रमिक उपलब्ध गराउने आश्वासन दिएपछि खेल सुरु भएको थियो ।

लिगको विभिन्न विवादस्पद समाचार बाहिर आएपछि सरकारले नेपाल टी–२० लिगमा भएको विवादबारे छानबिन गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।

त्यस्तै राखेपले पनि विदेशी खेलाडीको श्रम स्वीकृतिका साथै प्रतियोगिताको सञ्चालनको सम्बन्धमा क्यानसँग आवश्यक प्रमाण तथा कागजात माग गरेपनि त्यसको बेवास्ता गरेको र पछिल्लो समय लिगमा विसंगति देखिएको भन्दै छानबिनका लागि राखेपले पनि पाँच सदस्यीय कार्यदल गठन गरेको थियो ।

कमेन्ट गर्नुहोस्