काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेको ३६ घण्टे युद्धविरामलाई युक्रेनले अस्वीकार गरेको छ । पुटिनले रुसी ‘अर्थोडक्स’ क्रिसमसको समय पारेर युद्ध विराम घोषणा गरेको बीबीसीले जनाएको छ । रुसी अर्थोडक्स गिर्जाघरले ज्यानुअरी ७ तारिखमा क्रिसमस मनाउने गरेको छ।
युक्रेनका फौजहरूको अग्रतालाई रोक्ने र रुसी सैनिकहरूलाई युद्धमोर्चानजिक पुग्न दिने प्रयास स्वरूप मस्कोद्वारा युद्धविराम घोषणा गरिएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।
मस्कोको समय अनुसार युक्रेनले नमानेपनि शुक्रवार राति १२ बजेबाट युद्धविराम शुरू हुनेछ ।
रुसी ‘अर्थोडक्स’ गिर्जाघरका प्रमुख प्याट्रिआर्क किरिलले गरेको अपिल अनुसार आफूले सेनालाई युद्धविराम गर्न आदेश दिएको पुटिनले बताएका छन्।
सङ्घर्ष चलिरहेका क्षेत्रमा ठूलो सङ्ख्यामा बस्दै आएका धर्मावलम्बीहरूले शुक्रवार क्रिसमसको पूर्वसन्ध्या र शनिवार क्रिसमस मनाउन सकून् भनेर पुटिनले युक्रेनलाई पनि तत्तत् गर्न आग्रह गरेका हुन्।
तर रात्रिकालीन भिडिओ सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले पूर्वी डोन्बास क्षेत्रमा युक्रेनी फौजलाई अगाडि बढ्नबाट रोक्ने तथा आफ्ना थप फौज एवं उपकरणहरू ल्याउने उद्देश्यका साथ पुटिनले युद्धविरामलाई अगाडि सारेको आरोप लगाएका छन्।