प्रदेश– १ मुख्यमन्त्रीमा आधा–आधा कार्यकालको सहमति,४ बजे दाबी पेस गर्दै कार्की

काठमाडौं । सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठकले प्रदेश – १ को नेतृत्वमा नेकपा माओवादी केन्द्र र नेकपा माओवादी केन्द्रबीच आधा–आधा कार्यकालको समझदारी भएको छ । सोही सहमति अनुरुप सत्ता साझेदार दलले नेकपा एमालेका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै आज दिउँसो ४ बजे प्रदेश प्रमुखसामू दाबी पेश गर्ने भएका छन्।

बिहीबार बसेको गठबन्धनको शीर्ष नेताहरुको बैठकले पहिलो कार्यकाल अर्थात साढे २ वर्ष नेकपा एमालेले मुख्यमन्त्री पाउनेछ । त्यस्तै बाँकी अर्को कार्यकाल अर्थात साढे २ वर्ष नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री पाउनेछ ।

सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज दिउँसो ५ बजे सकिँदैछ । गठबन्धनको निर्णय अनुसार आजै नेकपा एमाले संसदीय दलको नेता हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन् ।

कार्कीलाई एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपाका गरि झण्डै दुई तिहाई सांसदको समर्थन रहनेछ ।

मुख्यमन्त्रीकै दाबी गर्दै आएको माओवादीले भने पहिलो चरणमा सभामुख पाउने समझदारी भएको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।

आङ्बोले पनि मुख्यमन्त्रीकै दाबी गर्दै आएका थिए । उनले गठबन्धनको उच्चस्तरिय बैठकले एमाले र माओवादीले प्रदेश १ को मुख्यमन्त्री आधा आधा कार्यकालको लागि लिखित सहमति भएको पनि पुष्टि गरे ।

‘दुई दलबीच नेतृत्वमा आधा–आधा कार्यकालको समझदारी भएको छ । अब बन्ने एमाले नेतृत्वको सरकारलाई सहयोग गर्छु,’ उनले भने, ‘यो अवधिमा म मन्त्री बन्दिन । साढे २ वर्षपछि मुख्यमन्त्री बन्छु।

आङ्बोले यसअघि नै अब दोहोरिएर मन्त्री नबन्ने र पार्टीका अन्य सांसदहरुलाई अवसर दिने घोषणा गरिसकेका छन् ।

उनी २०७४ को निर्वाचन पछि शेरधन राई नेतृत्वमा बनेको पहिलो प्रदेश सरकारमा अर्थमन्त्री बनेका थिए । शेरधन राई नेतृत्वको सरकार ढलेपछि बनेको राजेन्द्र राई नेतृत्वको सरकारमा पनि अर्थमन्त्री बनेका थिए ।

उनी अहिले पनि अर्थमन्त्रीकै रुपमा रहेका छन् । उनी मंसिर ४ गतेको सम्पन्न निर्वाचनमा पाँचथर प्रदेश – २ क्षेत्रबाट निर्वाचित भएका हुन् ।

कमेन्ट गर्नुहोस्