जनताको परिवर्तनको अपेक्षा र आकांक्षा अनुसार काम गर्नुपर्नेछ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले जनतालाई परिवर्तनको अपेक्षा र आकांक्षा रहेकाले सोअनुसार यो सरकार र संसद्सामु जिम्मेवारी रहेको बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकमा आज सोमबार दलको तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

प्रतिनिधिसभा समक्ष धेरै ठूलो जिम्मेवारी आइपरेको चर्चा गर्दै अध्यक्ष ओलीले देश विकासको बाटोमा अग्रसर हुनुपर्ने, जनताको सेवामा अग्रसर हुनुपर्ने, सामाजिक न्याय र समानतामा अग्रसर हुनुपर्ने दिशातर्फ राजनीतिलाई अघि बढाउने अभिभारा संसद्समक्ष भएको चर्चा गरे ।

“हाम्रा अगाडि राष्ट्रियताका जिम्मेवारी छन्, सांस्कृतिक पक्षको विकासका कुरा छन्, विविधताको मात्र कुरा गरेर हुँदैन, पुर्खाले स्थापित गरेको उन्नत सामाजिक सांस्कृतिक पक्षको प्रवर्धन गर्नुपर्नेछ” उनले थपे, “सांस्कृतिक मूल्य मान्यता विर्सेमा समाज वास्तवमा समाज रहँदैन ।”

मुलुकको राजस्व ऋणात्मक अवस्थामा रहेको चर्चा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेता ओलीले निर्यात गर्ने वस्तु घटेको र उद्योग बन्द भएको बताए । महँगी बढ्दो र जनजीवन कष्टकर भइरहेको अवस्थामा मुलुकलाई अगाडि बढाउने उत्तरदायित्व सरकार र सांसदसमक्ष भएको उनले चर्चा गरे।

सरकारले भोलि विश्वासको मत लिने र विश्वासको मत प्राप्त हुने उनले विश्वास व्यक्त गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई ज्ञापन गरे । परिस्थिति सहज नभए पनि जटिलताबीच काम गर्नुपर्ने अवस्था रहेको उनले बताए। मुलुकले परिवर्तन खोजेकाले सोहीअनुसार आफूहरुले काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

सांसदहरु केवल सांसद हुनका लागि मात्र निर्वाचित नभएको बरू देश र जनताको पक्षमा, खुशीका निम्ति काम गर्न आएको उनले चर्चा गरे । “हाम्रा अगाडि भ्रष्टाचार नियन्त्रण, सामाजिक विभेद अन्त्य गर्ने, जनताको अपेक्षा पूरा गर्ने चुनौती छ” चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “हामी मुख्य रुपमा लोकतान्त्रिक पद्धति र प्रक्रियाका लागि काम गर्नुपर्नेछ, बन्न पाएको छैन बिगार्नतिर लाग्यौं भने समयको बर्वादी मात्र हुन्छ ।”

अध्यक्ष ओलीले नवनिर्वाचित सांसदहरुलाई बधाई तथा संसद् बैठकमा स्वागत गरे।

कमेन्ट गर्नुहोस्