राष्ट्रिय एकतालाई सुदृढ गर्न प्रधानमन्त्री प्रचण्ड सक्षम पात्र : जसपा नेता राई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईले नेपालको राष्ट्रिय एकतालाई सुसुदृढ बनाउन प्रधानमन्त्री प्रचण्ड उपयुक्त पात्र भएको बताएका छन् । उनले देशमा पछिल्लो समय देखिएका समस्या समाधान प्रधानमन्त्री प्रचण्डबाट सम्भव हुने विश्वास व्यक्त गरे ।

उनले प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा प्रस्तुत गरेको विश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद राईले संघीयता कार्यान्वयनलगायतका काम गर्न सरकारलाई आग्रह गरे ।

अझै पनि संघीयता पूर्ण रूपमा कार्यान्वयन नभएको उल्लेख गर्दै राईले भने, ‘संघीयतामा गइसके पनि प्रदेशहरूले काम गर्न सक्ने वातावारण बनिसकेको छैन । २०७४ सालपछि मुख्यमन्त्री बन्नु भएका व्यक्तिहरूले गर्नु भएको क्रन्दन आज पनि याद आइरहेको छ ।’

त्यस्तै राईले कर्मचारीतन्त्रलाई परिणाममुखी बनाउनु पनि आजको आवश्यकता भएको बताए । उनले कर्मचारीतन्त्र प्रक्रियामुखी भएको भन्दै कार्यमुखी बनाउनुपर्ने बताए ।

अहिले राष्ट्रिय एकतालाई सुदृढ बनाउँदै देशको आवश्यकतालाई परिपूर्ति गर्नका लागि प्रधानमन्त्री प्रचण्ड सक्षम र अनुभवी पात्र भएको राईको भनाई थियो ।

कमेन्ट गर्नुहोस्