स्नातकोत्तर तहको भर्ना तयारी गरेका चौथो वर्षका विद्यार्थीको पुनः परीक्षा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय बीबीएस चौथो वर्षका परीक्षार्थी नतिजाको व्यग्र प्रतीक्षा गर्दै  स्नातकोत्तर तहको भर्ना तयारीमा थिए । यहीबीच त्रिवि परीक्षा नियन्त्रण कार्यालयले दमक बहुमुखी क्याम्पसको परीक्षार्थी सिम्बोल नम्बर ७०२०२०००१ देखि ७०२०२०२५१ सम्म ‘रिसर्च मेथडलजी’ विषयको उत्तरपुस्तिका हराएको खबर एकाएक सार्वजनिक भएको छ ।

त्यसपछि नतिजा रोकेर परिक्षा नियन्त्रण कार्यालयले क्याम्पससँग समन्वय गरी गएको पुस २३ गते पुनः परीक्षा लिएको छ ।

जसका कारण गत वर्ष पुस २० बाट माघ ४ सम्म परीक्षा दिएर नतिजा कुरिरहेका स्नातक तहका विद्यार्थी निराशा छाएको छ । यसको विरुद्ध विद्यार्थी र विद्यार्थी संगठनहरु आन्दोलित भएका छन् ।

विद्यार्थीहरूले उत्तरपुस्तिका हराउने शिक्षक र कर्मचारीको छानबिन हुनुपर्ने र दोषीमाथि विश्वविद्यालयको ऐन, नियमअनुसार कारबाही गरिनुपर्ने माग गरेका छन् । बल्खुस्थित त्रिवि परीक्षा नियन्त्रण कार्यालयको मूलढोकामा कालो तुल टाँगेर विद्यार्थीले न्याय मागेको महिना दिन भएको छ । त्यस्तै त्रिविको लापरबाहीको विरोधमा नियन्त्रकको कार्यकक्षमा तालाबन्दी गरिएको छ । स्रोतका अनुसार नियन्त्रक जोशी आफ्नो मोबाइल बन्द गरेर गरेर बाहिरबाटै कार्यालयको काम गर्दै छन् । त्रिवि स्नातक तह चौथो वर्षमा करिब डेढ लाख विद्यार्थी नतिजाको पर्खाइमा छन् ।

कमेन्ट गर्नुहोस्