यातायात क्षेत्रको सेवाप्रवाह चुस्त बनाउन मन्त्री श्रेष्ठद्धारा कर्मचारी र विज्ञहरुसँग छलफल

काठमाडौं । यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्न उपप्रधान एंव भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ कम्मर कसेर लागेका छन् । यातायात कार्यालयको अनुगमन सेवाग्राहीहरुसँगको अन्तरक्रिया पछि ढिलासुस्ती र प्राविधिक समस्या समाधन गर्न मन्त्री श्रेष्ठले कर्मचारी र विज्ञहरुसँग मन्त्रालयमा अन्तरक्रिया गरेका छन् ।

यातायात क्षेत्रमा मूलतः लाईसेन्स सम्बन्धी सेवाप्रवाहमा देखापरेका समस्याको निराकरण गरी छिटो, छरितो सेवा प्रवाह गर्नको निम्ति महत्वपूर्ण छलफल गरिएको श्रेष्ठका प्रमुख स्वकिय सचिव विजय गौतमले जानकारी दिए ।

मन्त्री श्रेष्ठले मन्त्रालयका सचिव, सहसचिव, यातायात विभागका महानिर्देशक, विभागको आईटी टीम, केही आईटी एक्सपर्ट एवं फ्रिल्यान्सरहरुबीच आज मन्त्रालयमा सेवा प्रवाह र प्रविधिमा आइरहने समस्याका साथै समस्या निराकरणका उपायबारे छलफल चलाएका हुन् ।

बैठकले माघ ७ गतेसम्म ठोस कार्ययोजना निर्माण गरी अगाडी बढ्न दिशानिर्देश गरेको सचिवालयले जानकारी दियो । जनसरोकार र सेवाका क्षेत्रलाई चुस्त, प्रभावकारी र सेवाग्राही मैत्री बनाउन सबैको सुझाब सल्लाह र सकारात्मक सहयोगको अपेक्षा गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्