काठमाडौं । प्रदेश १ का नवनियुक्त मन्त्री जीवन आचार्यले राजनीतिलाई पेशा र व्यापार बनाउन मन्त्री बन्न नखाेजेकाे स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग जाेडेर आलाेचना हुन थालेपछि उनले आफ्नाे जनतासँगकाे सम्बन्ध र क्षमता देखेर नै निर्वाचनमा टिकट पाएकाे र अत्यधिक मतले विजय भएकाे बताएका छन् ।
आफु अनुशासित र सचेत युवा भएको भन्दै आफ्नो कारण कसैको शिर झुक्न नदिने उनकाे भनाई छ ।
मन्त्री आचार्यले राजनीतिलाई आफूले विशुद्ध जनताको सेवा गर्ने थलोको रुपमा लिएको बताएका छन्। मन्त्री नियुक्त भएसँगै सामाजिक सञ्जालमा चर्चामा आएका उनले उत्कृष्ट जनमत सहित् निर्वाचित भएसंगै सरकारमा सहभागी हुन पाएको बताएका हुन्।
प्रचण्डका ज्वाईंलाई मन्त्री बनाएको भन्दै विभिन्न कोणबाट चर्चा भैरहेका बेला आचार्यले स्वस्थ आलोचनाप्रति आफ्नो सम्मान रहने बताएका हुन्।
‘स्वस्थ आलोचना प्रति मेरो सदैव सम्मान रहनेछ, म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु कि मेरो कारणले कसैको शिर झुक्ने छैन,’ आचार्यले सामाजिक सञ्जालमा लेखेका छन्।
साथै, उनले आफूलाई गफ गरेर समय बर्बादी गर्ने छुट नभएको भन्दै विकास र समृद्धिको यात्रा तय गर्नतवलए लाग्नपर्ने बताएका छन्।
‘मलाई गफ गरेर समय बर्बादी गर्ने छुट छैन साथी, ०५२ सालमा जन्मेको बच्चा अब नेता हुने चरणमा छ तिनलाई मार्गनिर्देश गर्नुछ, ६२/६३ को जनआन्दोलन ताका जन्मेको बच्चा अहिले यूवा छ, ति सबैका लागि सोच्नुछ, हामी संगै राजनीतिमा आकर्षित गराउनुछ, राजनीति केवल फोहोरी खेल होईन भन्ने बुझाउनुछ, सहिद बेपत्ता परिवारको सुखदुखमा सामेल हुनुछ, घाईतेको घाऊमा मल्हम लगाउनुछ र अन्ततः विकास र समृद्धि को यात्रा तय गर्नुछ।’ -उनले फेस्बुकमा लेखेका छन् ।
आफूले निर्वाचनताका भन्ने गरेको जस्तै राजनीति विसुद्धरुपमा जनताको सेवा गर्ने थलोको रुपमा लिइएको उनले बताएका छन्। ‘यसलाई पेशा र व्यापार बनाउन म चुनावमा होमिएको होईन, सॉसद केवल जागिर वा तलव खाने पद होईन।’
‘म एक अनुशासित यूवा हुँ र म मेरो जिम्मेवारी प्रति सचेत छु। स्वस्थ आलोचना प्रति मेरो सदैव सम्मान रहनेछ, म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु कि मेरो कारणले कसैको शिर झुक्ने छैन, म समग्र युवाहरुलाई प्रतिनिधित्व गरेर अगाडी बढ्दै गर्दा युवाहरुलाई निराश पार्नेछैन, म सधैं तपाईहरुसँगै थिएँ, छु र रहनेछु।’ आचार्यले भनेका छन्।