काठमाडौं । मन्त्रिपरिषद् विस्तार आज हुँदैछ । आज अहिले सपथका लागि समय तय गरिएको छ ।
सोमबार राति सकिएको बैठकमा एमालेले ८ मन्त्री र एक राज्यमन्त्री, माओवादीले चार मन्त्री र एक राज्यमन्त्री, रास्वपाले तीन मन्त्री र एक राज्यमन्त्री, राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री, पाउनेगरी सहमति जुटेको छ ।
नेकपा एमालेले परराष्ट्र, स्वास्थ्य, रक्षा, कृषि, भूमि व्यवस्था र महिला मन्त्रालय पाउने छ भने माओवादीले सञ्चार, भौतिक पूर्वाधार, संघीय मामिला र पर्यटन मन्त्रालय पाउनेछ ।
त्यसैगरी रास्वपाले गृह, शिक्षा र श्रम मन्त्रालय पाउनेछ । गृह मन्त्रालयमा रवि लामिछाने गइसकेका छन् ।
त्यसैगरी राप्रपाले उपप्रधानमन्त्रीसहित ऊर्जा, सहरी विकास र खेलकुद मन्त्रालय पाउने लगभग निश्चित भएको छ ।
को–को बन्दै छन् मन्त्री
एमाले : प्रत्यक्षमा दुईपटक चुनाव जितेकालाई एमालेले मन्त्री बनाउने भएको छ । एमालेबाट पर्वतका पदम गिरी, सुनसरीकी भगवती चौधरी, झापाका एलपी साँवा, सर्लाहीका हरि उप्रेती र कपिलवस्तुका बलराम अधिकारीमध्येबाट मन्त्री बनाउने तयारी छ । त्यस्तै, दुई राज्यमन्त्रीमा रौतहटका किरण साह र पर्साका राजकुमार गुप्तामध्ये एकजना पठाइने स्रोतले जनाएको छ । एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बनिसकेका छन् । त्यस्तै, दामोदर भण्डारी, राजेन्द्र राई र ज्वालाकुमारी साह मन्त्री बनिसकेका छन् । उनीहरूको विभाग तोक्न बाँकी छ ।
माओवादी : सुदन किराँती, रेखा शर्मा, अमनलाल मोदीलगायत चर्चामा छन् । माओवादीबाट उपप्रधानमन्त्रीसहित नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालिसकेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी शिशिर खनाललाई शिक्षा र डिपी अर्याललाई श्रममन्त्री बनाउने तयारी छ । तर, श्रममा विराजभक्त श्रेष्ठले पनि दाबी गर्दै आएका छन् । एक राज्यमन्त्रीमा भने डा. तोसिमा कार्की या सोविता गौतममध्येबाट बनाउने सोचमा अध्यक्ष लामिछाने छन् ।
राप्रपा : उपप्रधानमन्त्रीसहित ऊर्जा, सहरी विकास र खेलकुद मन्त्रालय पाएको छ । स्रोतका अनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधानमन्त्रीसहित नेतृत्व गर्नेछन् । प्रत्यक्ष निर्वाचितहरूलाई प्राथमिकता दिने तयारी छ । सहरी विकास मन्त्रीमा ध्रुवबहादुर प्रधान र राज्यमन्त्रीमा दीपकबहादुर सिंह पठाउने तयारी छ । खेलकुद मन्त्रालयमा धवलशमशेर राणा, दीपक बोहरा र विक्रम पाण्डेमध्येबाट बनाउने स्रोतले जनाएको छ ।