वर्तमान सरकारको एक सूत्रीय कार्यक्रम सामाजिक न्यायसहितको समृद्धि : उपप्रधानमन्त्री श्रेष्ठ

चितवन। उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धिको शत्रु भष्ट्राचार भएको बताएका छन् । उनले सामाजिक न्यायसहितको समृद्धि वर्तमान सरकारको एक सूत्रीय कार्यक्रम भएको बताए ।

भरतपुर महानगरपालिकाले मंगलबार महानगरको सभाकक्षमा आयोजना गरेको बधाई एवम् विकाससम्बन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले त्यस्तो बताएका हुन्। उनी मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशकसहितको चितवन र यसको आसपासको क्षेत्रको सडक लगायतका पूर्वाधारको अवलोकन, निरीक्षणका लागि सोमबार चितवन आएका थिए ।

उनले विकास निर्माणको काममा भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, आलटाल कुनै पनि बहानामा छुट नभएको बताए । उनले भने, “भ्रष्टाचार र अनियमितता विकास र समृद्धिको शत्रु हो । यस्तो कहीँ छ भने सरकार त्यसलाई छुट दिनेवाला छैन ।” आफूले मन्त्रालय सम्हालेदेखि सुशासन, यातायातमा सुधार, आयोजना छनोट, भौतिक निर्माणका विषयमा पटक पटक विभिन्न राजनीतिक नेतृत्व, विज्ञ र सरोकारवाला पक्षसँग पटक पटक छलफल र अन्तरक्रिया गरिरहेको बताए ।

मन्त्री श्रेष्ठले मंगलबार नै भरतपुरको गोन्द्राङ पुलचोक ६ लेन सडक र आँपटारी केन्द्रीय बस टर्मिनल बाइपास सडकको अवलोकन गर्नु भई काममा ढिलाइ नगर्न निर्माण व्यवसायीलाई निर्देशन दिए।

उपप्रधानमन्त्री श्रेष्ठले मंगलबार नारायणी नदीमा बन्ने सिग्नेचर पुलको निर्माणस्थल अवलोकन, निर्माणको क्रममा रहेको नारायणगढ हेटौडा ६ लेन सडकको प्रगतिको बारेमा बुझ्ने र अनुगमन गर्ने कार्य समेत गरेका छन् ।

सो अवसरमा भरतपुर महानगर प्रमुख रेनु दाहालले पश्चिम चितवनमा नारायणी नदीमा पुलको आवश्यकता, महानगरीय रिङरोडको पूर्णता गर्नुपर्ने अवस्था, भरतपुर महानगर क्षेत्रमा सौन्दर्यीकरणसहितको सडक पूर्वाधारको लागि बजेट व्यवस्था गरिदिन माग गरिन् ।

कमेन्ट गर्नुहोस्