काठमाडौं। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले र काठमाडौं उपत्यकास्थित सडक निर्माणसँग सम्बन्धित निकायहरूबीच आज मन्त्रालयमा अन्तरक्रियात्मक बैठक सम्पन्न गरेका छन्। मन्त्री श्रेष्ठले मन्त्रालय, स्थानीय निकाय र अन्य आयोजनाहरूले छुट्टाछुट्टै सडक निर्माण गर्ने गरेको तर कुनै एक निकायले मात्रै चाहेर सडकको गुणात्मक बिकास हुननसक्ने अवस्थाबीच साझा संयन्त्र बनाएर अगाडि बढ्ने उद्देश्यले उक्त बैठक आयोजना गरेका हुन् ।
बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, काठमाडौं उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल, अधिकार सम्पन्न बागमति सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्दवप्रसाद तिमल्सिनासहित सडक निर्माणसँग सम्बन्धित निकाय वा आयोजनाका दुईदर्जन भन्दा बढी प्रतिनिधिहरूको उपस्थिति थियो।
त्यसक्रममा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठले सबै निकायबीच एउटा साझा संयन्त्र बनाएर समन्वयमा नै सडक निर्माण र सुधारको काम हुनुपर्नेमा जोड दिए। ‘आआफ्नो काम गरौं तर समन्वयमा।’ उपप्रधानमन्त्री श्रेष्ठले भने-‘खाल्डाखुल्डी छ, कुन निकायले बनाएको सडक हो थाहा छैन, सडक नबनाएको आरोप भौतिक पूर्वाधार मन्त्रालयलाई आउँछ।’
काठमाडौं महानगरका मेयर शाहले आफुहरु मन्त्रालयसँग समन्वय गरेर काम गर्न तयार रहेको र अबैध घरटहरा हटाउन सरकारको मद्दत चाहिएको बताए। त्यस्तै ललितपुर महानगर मेयर महर्जनले सार्वजनिक खरिद ऐन ०६३ लाई संशोधन गरेर नीति नै परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए।
बैठकमा बोल्दै आयुक्त ढकाल र अध्यक्ष तिमल्सिनाले पनि साझा संयन्त्र, काममा समन्वय र गुणात्मक बिकासको उपप्रधानमन्त्री श्रेष्ठको अवधारणालाई आत्मसात गरेर अगाडि बढ्नुपर्ने बताए। सडक र समस्याको पहिचान गरेर कामलाई गति दिईने र हरेक महिनाको १५ गतेपछिको शुक्रबार दुई बजे यही निकायबीच अन्तरक्रियात्मक बैठक बस्ने सहमति त्यसक्रममा भएको छ।
त्यसैगरि आजको बैठकले उपत्यकाको सबै निकाय अन्तर्गतको सडकको डिजिटल म्याप तैयार गर्ने यसको लागि सडक विभागले समन्वय गर्ने,सबै निकायले आफू मातहतको सडकहरूको pothole को repair आपसी समन्वयबाट सम्पन्न गर्ने,समन्वयात्मक र एकीकृत ढंगले काम गर्न दीर्घकालीन रूपमा स्थायी संरचना निर्माण गरेर जाने सहमति गरेको छ।
यसअघि नेपाल विद्युत प्राधिकरण, काठमाडौ उपत्यका खानेपानी लिमिटेड र मेलम्ची खानेपानी आयोजना र सडक बिभागबीच पनि संयुक्त संयन्त्र बनाएर अगाडि बढ्ने निर्णय भैसकेको छ।