एमाले महासचिव पोखरेल माओवादी उपमहासचिव पुनलाई भेट्न अस्पतालमा

काठमाडौं । नेकपा (एमाले)का महासचिव नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाको जानकारी लिन अस्पताल पुगेका छन् ।

महासचिव पोखरेलले ललितपुरको सुमेरु अस्पतालमा पुगेर नेता पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन्।

माघी पर्वका लागि गृहजिल्ला रोल्पा पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि गत शनिबारदेखि सुमेरु अस्पतालमा भर्ना भएका हुन्। उनलाई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको थियो।

पुनको दुई महिनादेखि पेटमा पानी जम्ने समस्या देखिएको छ । पुनको उपचारमा संलग्न पेट रोग विशेषज्ञ प्रा. डा.युवराज शर्माका अनुसार पुनको कलेजोले काम नगरेको खण्डमा कलेजो प्रत्यारोपण गर्ने विषयमा छलफल भएको छ ।

पुन यसभन्दा अगाडि चीनमा आफ्नो स्वास्थ्य उपचार गराइरहेका थिए । पुनको स्वास्थ्य अवस्था स्थिर रहेको डा.शर्माको भनाइ छ ।

पुनलाई विश्वमा बिरलै देखिने जटिल प्रकृतिको वंशाणुतग रूपमा रहेको जण्डिस देखिएको छ । कलेजो आफै विकसित हुने अंग भएकाले यसको प्रत्यारोपण गरेको तीन महिनादेखि नै बिरामीको पेटमा आफैं विकसित हुन्छ र करिब छ महिनामा झण्डै ९० प्रतिशत विकास भइसक्छ । यसले गर्दा कलेजो प्रत्यारोपण गरिएको बिरामीले पुनः पहिलेजस्तै सहज जीवन जीउन सक्ने कलेजो रोग विशेषज्ञहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्