जीवित शिशुलाई मृत घोषित गर्ने चिकित्सकलाई काम गर्न रोक

विराटनगर । विराटनगरको कोसी अस्पतालमा उपचारार्थ भर्ना गरिएकी १८ दिने शिशुलाई मृत घोषित गर्ने चिकित्सकसहित तीन स्वास्थ्यकर्मीलाई काम गर्न रोक लगाइएको छ । हाइपोथर्मिया भएकी शिशुलाई मृत घोषित गरी घर पठाउने अस्पतालका मेडिकल अफिसर आकाश यादवसहित तीन स्वास्थ्यकर्मीलाई काममा रोक लगाइएको हो ।

घटनाबारे छानबिन गर्न अस्पतालले बिहीबार छानबिन समिति गठन गरेको छ । अस्पतालका बालरोग विशेषज्ञ डा। प्रवीण झाको नेतृत्वको तीन सदस्य समिति गठन गरिएको हो ।

चिकित्सक यादवसहित अहेब लक्ष्मण माझी र टीका अधिकारीलाई काममा रोक लगाइएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालले तीनैजनालाई स्पष्टीकरण पनि सोधिएको बताए ।

बुधवार बिहान ८ देखि दिउँसो २ बजेसम्म डा.यादव र अहेबहरू शिशुको उपचारमा खटिएका थिए । मोरङको जहदा गाउँपालिका–३ का दिलीप मुखिया र उनकी श्रीमती उमा मुखियाले शिशुलाई उपचार गर्न ल्याएका थिए । तर, चिकित्सक यादवले शिशुको उपचार नगरी मृत घोषणा गरी फिर्ता पठाइदिएको मुखियाल बताएका छन् ।

मृत घोषणा गरिएको शिशु जीवितै पाइएपछि कोसी अस्पतालका चिकित्सक यादवमाथि कुटपिट समेत गरिएको थियो । शिशुको अहिले गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्