प्रधानमन्त्री कप : उपाधिका लागि प्रदेश एक र सुदुर पश्चिम भिड्ने

काठमाडौं । विभागीय टोली एपीएफ क्लब पहिलो पटक प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल पुग्न असफल भएको छ । आज भएको सेमीफाइनलमा एपीएफ प्रदेश एकसंग ८ विकेटले पराजित हुँदै प्रतियोगिता बाट बाहिरिएको हो ।

सुनसरीको इटहरीस्थित जनता क्रिकेट पार्कमा टस जितेर ब्याटिङ गरेको साविक विजेता एपीएफ १३ ओभर ४ वलमा ४५ रनको झिनो स्कोरमा अल आउट भयो । उसका कुनैपनि ब्याटरले उत्कृष्ट प्रर्दशन गर्न सकेनन् । ओपनर तथा कप्तान सीता रानामगर पहिलो विकेटका रुपमा १० रनमा आउट भएकी थिइन् । यहिनै एपीएफको इनिङमा बनेको उच्च रन हो । बाँकी खेलाडीले दोहोरो रन छुन सकेनन् । अर्की ओपनर ज्योती पाण्डे ५, इन्दु बर्मा ७, राजमती ऐरी ३ , ममता चौधरी ४, सरिता मगर १, नेरी थापा २ रनमा पवेलियन फर्किए ।

रोमा थापाले खाता खोल्न सकिनन् । अलिसा अडिया र संगिता राइले ३–३ विकेट लिए । सवनम राइको नाममा दुइ विकेट रह्यो । कप्तान रुविना क्षेत्रीले तीन ओभर ४ वल वलिङ गर्दै मात्र ५ रन खर्चिइन् । उनले एक ओभर मेडन फालेकी थिइन् ।

जवाफमा प्रदेश एकले नौ ओभरमा दुइ विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्यो । काजल श्रेष्ठ ९ रनमा नेरी थापाको वलमा आउट भएकी थिइन् । लतिका राजबंशी एक रनमा रन आउट भइन् । रुविना २० र अप्सरी बेगम ९ रनमा अविजीत रहे । एपीएफले यसअघिका सात संस्करण मध्ये सर्वाधिक ५ पटक उपाधि जितेको थियो । एक दशक घरेलु प्रतियोगितामा एकछत्र राज गरेको एपीएफले यो पटक इतिहासकै खराब प्रदर्शन गर्यो । सन २०२१ म एपीएफलाइनै हराएर प्रदेश एकले पहिलो पटक प्रधानमन्त्री कपको उपाधि जितेको थियो ।

अब प्रदेश एकले उपाधिका लागि सुदुरपश्चिम प्रदेश संग प्रतिस्पर्धा गर्नेछ । आजै भएको सेमीफाइनलमा सुदुरपश्चिमले मधेश प्रदेशलाइ १ सय १४ रनको फराकिलो अन्तरले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको सुदुरले २० ओभरमा दुइ विकेट गुमाएर १ सय ८० रनको योगफल बनाएको थियो । पहिलो विकेटका लागि कप्तान विन्दु रावल र कविता कुंवरले १ सय २८ रनको साझेदारी गरे । कविता कुंवरले ५४ वलमा ७० रनको योगदान गरिन् । उनले १२ चौका र एक छक्का प्रहार गरेकी थिइन् ।

विन्दु ६० रनमा अविजीत रहिन् । उनले ५२ वलको सामना गर्दै ९ चौका हिर्काइन् । कविता जोशीले ३२ रन जोड्नि । भुमि सिंह र साना प्रविनले एक एक विकेट लिए । जवाफमा मधेशले २० ओभरमा ८ विकेटको क्षतीमा ६६ रन मात्र बनायो । प्रतिमा साहले सर्वाधिक १९, सिमा कुमारले १६ र अलिसा उादवले १४ रन जोडे । बाँक सिँगल रनमा मैदान बाहिरिए । मनिसा चौधरी र रितु कनौजीयाले दुइ दुइ विकेट लिए । कविता कुँवर र स्नेहा महराले एक एक विकेट लिए । फाइनल खेल शनिबार हुनेछ ।

कमेन्ट गर्नुहोस्