गुडिरहेको कारमा सिटबेल्ट नबाँधी भिडियो बनाएपछि बेलायती प्रधानमन्त्रीलाई जरिवाना

काठमाडौं। बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई प्रहरीले सिटबेल्ट नबाँधेको आरोपमा जरिवाना गरेको छ । गुडिरहेको कारमा सामाजिक सञ्जालका लागि भिडियो बनाउँदै गर्दा प्रधानमन्त्री सुनकले सिटबेल्ट नबाँधेको कारण प्रहरीले जरिवाना गरेको हो ।

प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटले प्रधानमन्त्री सुनकले सानो भिडियो बनाउनका लागि सिटबेल्ट खोलेको बताएको छ । प्रधानमन्त्री कार्यालयबाट जारी वक्तव्यमा भनिएको छ, ‘प्रधानमन्त्रीले आफ्नो गल्ती स्वीकार गर्नु भएको छ । यसका लागि उहाँले माफीसमेत माग्नु भएको छ । उहाँले सबैले सिटबेल्ट लगाउनुपर्छ भन्ने मान्नुहुन्छ ।’

बेलायतमा कारमा सिटबेल्ट नलगाएमा १०० पाउन्ड जरिवाना तिर्नुपर्छ । यदि कसैले जरिवाना तिर्न नमानेमा वा मुद्दा अदालतसम्म पुगेमा भने उक्त जरिवाना ५०० पाउन्डसम्म तिर्नुपर्नेछ । भिडियो बनाउनेबेला प्रधानमन्त्री सुनक उत्तरी इंग्ल्यान्ड भ्रमणका क्रममा ल्यांकाशर पुगेका थिए । भिडियोमा प्रधानमन्त्री सुनक अर्थव्यवस्था सुधारका लागि स्थानीय स्तरमा लगानी बढाउँदै नयाँ रोजगारी सिर्जनामा लागेको बताएका छन् ।

सुनक सरकारमा रहेकै बेला दोस्रो पटक जरिवानामा परेका हुन् । यसअघि तत्कालीन प्रधानमन्त्री बोरिस जोनसनसँगै कोरोना नियन्त्रणका लागि लागू लकडाउनको नियम तोडेको आरोपमा उनलाई जरिवाना गरिएको थियो । सन् २०२० मा जोनसन र उनकी पत्नीमाथि जन्मदिनको पार्टी आयोजना गरेको आरोप लागेको तियो ।

कमेन्ट गर्नुहोस्