महिलाले प्रतिस्पर्धा गर्न पाउने अवस्था क्रान्तिको उपलब्धि हो : नारायणी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद नारायणी शर्माले विगतमा भएका क्रान्ति र आन्दोलनकै कारण अहिले सीमान्तकृत समुदाय र महिलाले प्रतिस्पर्धा गर्ने अवस्था बनेको बताएकी छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा उपसभामुखकी उम्मेदवार इन्दिरा रानामगरलाई समर्थन गर्दै उनले विगतको आन्दोलन र संघर्षकै कारण अहिलेको राजनीतिक व्यवस्था स्थापित भएको बताए ।

‘यो क्षणमा मलाई गर्व लागेको छ, महिलालाई, जनजातिलाई प्रतिस्पर्धामा ल्याउनका लागि, पछाडि परेको सीमान्तकृत र दलित समुदायलाई प्रतिस्पर्धामा ल्याउनका निम्ति विगतमा गरिएका संघर्षहरू, आन्दोलनहरुको योगदान छ । म त्यो संघर्ष, युद्ध र आन्दोलनप्रति गर्व गर्न चाहान्छु,’ उनले भनिन्, ‘यतिबेला एउटा मेधशी चेली र अर्की जनजाति चेली प्रतिस्पर्धामा हुनुहुन्छ । र हामी यहाँ उपस्थित रहेर लोकतन्त्रको सून्दर अभ्यास गरिरहेका छौँ ।’

उनले उपसभामुखमा सामाजिक क्षेत्रबाट अन्तर्राष्ट्रियस्तरमा छवि बनाएकी रानामगरलाई निर्वाचित गर्न आग्रह गरिन् । ‘यसपटक राजनीतिकरुपमा अगाडि बढ्दा सामाजिक रुपमा खेलेको भूमिकालाई जनताले महत्त्व दिएका छन् । इन्दिरा रानामगरले सामाजिक रुपमा जुन भूमिका देखाउनुभएको छ, त्यसबाट नेतृत्व गर्न अब्बल, सक्षम र असल हुनुहुन्छ भन्ने प्रष्ट भइसकेको छ । त्यसैले उपसभामुखमा उहाँलाई निर्वाचित गर्न आग्रह गर्दछु,’ उनले भनिन् ।

कमेन्ट गर्नुहोस्