संसद् सचिवालयको पत्र : प्रमुख प्रतिपक्षी दलको नेता देउवा

काठमाडौं । संघीय संसद् सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिँदै प्रमुख प्रतिपक्षी दलको नेताका सेवा सुविधासम्बन्धी पत्र पठाएको छ ।

कांग्रेसको संदसीय दलको कार्यालयमा कार्यरत उपसचिव होमनाथ पहाडीको पत्रको जवाफ दिँदै संसद् सचिवालयले नाम नै तोकेर प्रमुख प्रतिपक्षी दलको नेताको सेवा सुविधासम्बन्धी जानकारी गराएको हो । संघीय संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन महाशाखाका प्रमुख रामहरि थापाले पत्र पठाउँदै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले पाउने सेवा सुविधाका विषयमा जानकारी दिएका हुन् ।

पत्रमा भनिएको छ, “प्रस्तुत विषयमा तहाँ दलको कार्यालयको पत्र संख्या २०७९।०८० च.नं.४५ मिति २०७९।०९।२९ को पत्रबाट प्रतिनिधिसभामा विपक्षी दलको नेता माननीय श्री शेरबहादुर देउवाज्यूले प्रमुख विपक्षी दलको नेताको हैसियतले प्राप्त गर्ने सुविधा माग भई आएको सन्दर्भमा सो सुविधा संघीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को सम्बन्धित दफाहरु र अनुसूची–१ तथा अनुसूची–२ बमोजिम हुने व्यहोरा निर्देशानुसार अनुरोध छ ।” सचिवालयले विपक्षी दलको नेताको हैसियतमा नाम नै तोकेर जानकारी गराएसँगै कांग्रेसको प्रमुख प्रतिपक्षी दलको हैसियत पाउँछ कि पाउँदैन भन्दै भएको बहसमा पूर्णविराम लागेको छ ।

कमेन्ट गर्नुहोस्