काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक संक्रमणकालदेखि वर्तमानसम्म सशस्त्र प्रहरी बलले खेलेको भूमिका प्रशसंनीय रहेको बताएका छन् । सशस्त्र प्रहरीद्धारा २२ औं सशस्त्र प्रहरी दिवस – २०७९ का अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले २०६४ सालको निर्वाचनमा नेतृत्वदायी भूमिकाका साथै २०७०, २०७४, २०७९ मा सम्पन्न निर्वाचनहरू शान्तिपूर्ण, निष्पक्ष, भयरहित एवं कुशलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै सकल दर्जाका सशस्त्र प्रहरी राष्ट्रसेवकहरूप्रति नेपाल सरकारको तर्फबाट आभार व्यक्त गरे ।
२०७२ सालको विनाशकारी महाभूकम्प लगायत विभिन्न समयमा घटेका प्राकृतिक तथा मानवसिर्जित विपदमा तपाईहरूले आफ्नो ज्यानको प्रवाह नगरी बहादुरीपूर्वक खटिएर जनताको जीवन रक्षाका लागि कर्तव्यनिष्ठ भएर सशस्त्र प्रहरीले काम गरेको प्रधानमन्त्रीले बताए । उनले सीमित साधनस्रोत र चुनौतीकाबीच सुरक्षा र विपद् व्यवस्थाका क्षेत्रमा सशस्त्रको क्रियाशीलता र सकारात्मक रहेको भन्दै प्रशंसा गरे ।
नेपालको सीमा सुरक्षार्थ (सिमा सुरक्षा बल) फौजको रूपमा हिमालदेखि तराईसम्मका कठिन भौगोलिक तथा वातावरणीय प्रतिकूलता तथा सीमित पूर्वाधारका वावजुद राष्ट्रसेवाको भावनासहित परिचालित भएको भन्दै प्रधानमन्त्री प्रचण्डले सशस्त्र प्रहरीका जवान तथा अधिकृतहरूलाई धन्यवाद दिए ।
साथै, उनले नेपालको सीमा सुरक्षार्थ उत्तर–दक्षिण, पूर्व–पश्चिम सबैतिर परिचालन गर्न, त्यसका लागि आवश्यक साधनस्रोत, सीप तालिम र प्रोत्साहनको व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।