काठमाडौं । संघीय संसद् अन्तर्गत मंगलबार बसेको प्रतिनिधि सभा बैठकले सभामुख र उपसभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्ने सांसदहरुको नाम हेरफेर गरेको छ ।
हेरफेर भएका नामहरु बैठकको सुरुवातमै सभामुख देवराज घिमिरेले पढेर सुनाएका थिए । हेरफेर गरिएको जिम्मेवारीअनुसार सभामुख देवराज घिमिरेको स्थानमा कृष्णगोपाल श्रेष्ठ र सुशिला श्रीपाली ठकुरीको स्थानमा विमला सुवेदीले भूमिका निर्वाह गर्ने भएका छन् ।
त्यस्तै, आजको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरिएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
२१ सदस्यीय समितिमा सांसदहरु अनिता देवी, डाक्टर अमरेशकुमार सिंह, गंगाधर चौंधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदिप यादव, प्रेम सुवाल, महेशप्रसाद गर्तौला, रमेश लेखक, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्तिबहादुर बस्नेत, सर्वेन्द्रनाथ शुक्ला, सिता गुरुङ, सुवाषचन्द्र नेम्वाङ, सोभिता गौतम, हितराज पाण्डे र ज्ञानेन्द्रबहादुर शाही रहेका छन् । समितिले १५ दिन भित्र सो मस्यौदा तयार पारी प्रतिनिधिसभा बैठकमा पेश गर्ने कार्यादेश दिइएको प्रस्तावका प्रस्ताव सांसद देवेन्द्र पौडेलले जानकारी दिए।
नेपालको संविधानको धारा १०४ को उपधारा १ बमोजिम प्रतिनिधिसभाले आफ्नो कार्य संचालन गर्न, बैठकको सुव्यवस्था कायम गर्न र समिति गठन, कारबाही र प्रतिनिधिसभा समितिको कार्यविधि नियमित गर्न र प्रतिनिधिसभाको अन्य कार्यमा सहजता ल्याउन आवश्यक भएकाले सो मस्यौदा समिति गठन गरिएको हो ।
संसद् बैठक अहिले जारी छ ।