खानले स्वीकारे खानेपानी मन्त्रालय, केहीबेरमा पदभार ग्रहण गर्दै

काठमाडौं । जनमत पार्टीका उपाध्यक्षसमेत रहेका मन्त्री अब्दुल खानले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डले सपथ लिएकै दिन मन्त्रीको सपथ लिएका खानले बुधबारदेखि मन्त्रालयमा पदभार ग्रहण गर्न लागेका हुन् । बुधबार दिउँसो २ बजे उनले पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

‘गठबन्धनमा हाम्रो पार्टीका केही असमझदारीहरु थिए, त्यसलाई सम्बोधन गर्ने कुराकानी भएपछि अब मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दैछु,’ मन्त्री खानले भने ।

जनमतले यसअघि गठबन्धनमा शक्ति बाँडफाँटको विषयमा असन्तुष्टि जनाउँदै मन्त्रालयको जिम्मेवारी लिन अस्वीकार गरेको थियो । ११ पुसमा मन्त्री बनेका खानलाई प्रधानमन्त्री प्रचण्डले ३ माघमा खानेपानी मन्त्रीको जिम्मेवारी दिएका थिए । तर पूर्वसहमति अनुसार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय नै पाउनुपर्ने भन्दै उनले कार्यभार सम्हाल्न मानेका थिएनन् ।

कमेन्ट गर्नुहोस्