अमेरिकी राजनीतिक मामिला उपमन्त्री नुल्यान्ड अर्को साता आउँने

काठमाडौं । अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड अर्को साता नेपाल भ्रमणमा आउँने भएकी छन् । परराष्ट्र स्रोतका अनुसार नुल्यान्डले माघ १५ र १६ मा नेपालको भ्रमण गर्ने तय भएको छ ।

पुस १३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा नयाँ वामपन्थी सरकार बनेपछि विदेश मुलुकबाट नेपालमा हुन लागेको यो नै पहिलो उच्चस्तरीय भ्रमण हो ।

उपमन्त्री नुल्यान्ड बदलिँदो भूराजनीतिक परिवेशमा नेपालको भ्रमण गर्दै यहाँको वस्तुस्थिती बुझ्न र नयाँ सरकारसँग सहकार्य गर्नका लागि आउन लागेको परराष्ट्रका एक अधिकारीले बताए । उनले प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन, परराष्ट्र मन्त्री विमला राई पौड्याललगायतलाई भेट्ने छिन् । स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने बारेमा भने टुंगो लागिसकेको छैन ।

स्रोतका अनुसार अमेरिकी उपमन्त्री नुल्यान्डको भ्रमणको विषयमा आज वा भोलिसम्म वासिङ्टन डीसीबाटै विज्ञप्ति जारी गरी भ्रमणको जानकारी सार्वजनिक हुनेछ ।

परराष्ट्रका एक अधिकारीका अनुसार यो भ्रमणमा मुख्य गरी अमेरिकाको अनुदान सहयोगमा अघि बढेको मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) को सहयोगमा भइरहेको कामको बारेमा छलफल हुनेछ । साथै, उपमन्त्री नुल्यान्डले नेपालमा अमेरिकी अन्तर्राष्ट्रिय विकासका लागि नियोग (यूएसएआईडी) मार्फत भइरहेका र भविष्यमा हुने प्रस्तावको बारेमा पनि छलफल गर्नेछिन् ।

साथै, भेटवार्ताहरूमा अमेरिकी मन्त्री नुल्यान्डले अमेरिकाको प्राथमिकतामा रहेका विषयहरु मानव अधिकार, प्रजातन्त्र, शरणार्थीलगायत विषयमा कुरा गर्ने अनुमान गरेको परराष्ट्रका ती अधिकारीले बताए ।

कमेन्ट गर्नुहोस्