हिमपातले उडान बन्द, धावन मार्गको हिउँ हटाइँदै

जुम्ला। जुम्लामा हिमपातले हवाई सेवा बन्द छ । मङ्गलवार देखी आएको लगातारको हिमपातले धावन मार्गमा हिउँ जमेपछि जहाज बस्न सकिरहेका छैनन् । आज बिहानैदेखि हिउँ रोकिएको छ ।

नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजीव श्रेष्ठका अनुसार मङ्गलवार र बुधवार निरन्तर हिउँ जमेकाले हवाई सेवा ठप्प भएको हो । उनका अनुसार आज भने मौसम राम्रो भए पनि धावनमार्गमा हिउँ जमेकाले जहाज अवतरण हुन सकिरहेको छैन ।

आज मौसम राम्रो भएकाले नेपालगन्जदेखि जहाज आउन तयारी अवस्थामा छन् तर धावनमार्ग खुलाइँदै गरिएको नेपाली सेना नन्द बक्स गणका गणपति रबिन थापाले जानकारी दिए।

धावन मार्गमा हिउँ जमेपछि बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले धावनमार्गमा हिउँ फाल्ने काम सुरु गरेको छ ।

तीन दिनदेखि हिउँ परेर नेपालगन्जमा जुम्ला आउने यात्रुहरू अलपत्र अवस्थामा छन् ।

कमेन्ट गर्नुहोस्